
आगामी निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री लालबाबु राउतलाई उनले शनिवार आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले पदबाट राजीनामा दिइएको र जनता समाजवादी पार्टीमा प्रवेश गर्न लागेको मुख्य न्यायाधिवक्ता झाले बताए । मंसिर ४ गते हुने निर्वाचनमा महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिने तयारीमा रहेका झाले जनता समाजवादी पार्टी (जसपा) प्रवेश गर्ने कार्यक्रम छ । शनिवार नै जसपा अध्यक्ष उपेन्द्र यादवले झालाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको जनाइएको छ ।
मधेश प्रदेश सरकार गठन भएदेखि प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको पदमा उनी कार्यरत रहँदै आएका थिए ।