
आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट ‘फुल कन्ट्र्याक्ट’ कराँतेतर्फ पुरुषतर्फ सात र महिलातर्फ पाँच खेलाडी छनोट भएका छन् ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा यही भदौ १५ देखि सञ्चालन भएर आज सम्पन्न भएको भएको प्रदेशस्तरीय कराँते छनोट प्रतियोगिताबाट राष्ट्रिय खेलकुदका खेलाडी छनोट गरिएको हो ।
कराँतेमा छनोट हुन सफल खेलाडीमा पुरूषतर्फ ४० केजी तौल समूहमा कास्कीका अभिषेक तामाङ, ४५ केजीमा बागलुङका नारायण विक र ५० केजीमा कास्कीका अनिष बुढा मगर छन् ।
यसैगरी ५५ केजीमा पर्वतका पासाङ तामाङ, ६० केजीमा कास्कीका मोशेस कुमाल र ६५ केजीमा कास्कीका शिव भुजेल र खुला तौल समूहमा कास्कीका रूपक नेपाली छनोटमा पर्न सफल भए ।
यसैगरी महिलातर्फ ४० केजी तौल समूहमा स्याङ्जाका पुष्प कुँवर, ४५ केजीमा कास्कीका मेनुका अधिकारी, ५० केजीमा कास्कीका सरगम कुमाल, ५५ केजीमा तनहुँकी धनी रानामगर र खुला तौल समूहमा कास्कीका मेरिना गुरूङ छनोटमा पर्न सफल भए।
छनोट भएका खेलाडी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी बन्नेछन् ।