
प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे पाँच दिने औपचारिक भ्रमणको सिलसिलामा आइतवार नेपाल आइपुगेका छन् ।
पाँच सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै उनी आइतवार अपराह्न काठमाडौं आइपुगेका हुन् । भ्रमण टोलीमा उनकी पत्नी अर्चना पाण्डेलगायत वरिष्ठ सैनिक अधिकृतहरू सहभागी छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गरेका थिए
पाँच दिवसीय भ्रमणको क्रममा सेनाध्यक्ष पाण्डेलाई सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने समारोहमा मानार्थ नेपाली सेनाको महारथीको दर्जा प्रदान गरिने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।