
साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । आइतवार सामान्य अंक बढेर बन्द भएको नेप्से परिसूचक सोमवार ४.२९ अंक घटेर १९७३.०१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८२ अंक, फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ ।
सोमवार कारोबारमा आएका २२४ कम्पनीको २४ लाख ४४ हजार कित्ता शेयर ९० करोड ९९ लाख ४ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । आइतवारको कारोबारमा १ अर्बभन्दा बढीको शेयर खरिद बिक्री भएको बजारमा आज ९० करोड बराबरको मात्रै कारोबार भएको छ ।
सोमवार नेप्सका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको घटेको छ । जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०४ प्रतिशत र लघुवित्त उपसमूहको ०.०६ प्रतिशत बढेको छ ।
तर यता अन्य उपसमूहको परिसूचक १.०४ प्रतिशत र वित्तको ०.५९ प्रतिशत घटेको छ । सोमवार नेप्से सामान्य अंकले घटे पनि मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्य ७.४३ प्रतिशत बढेको छ । त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स र रिडी पावरको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ ।
रुरु जलविद्युत परियोजनाको ६.५५ घटेको छ । सोमवार रिडी पावर कम्पनीको ९ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।