
प्यूठानबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारका लागि पार्टीका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाको नाम एकल सिफारिस गरेको छ । सोमवार पार्टी बसेको जिल्ला कमिटीको बैठकले थापालाई उम्मेदवार बनाउनका लागि एकल नाम सिफारिस गरेको जिल्ला कमिटी अध्यक्ष विजयविराज विष्टले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्यका लागि प्यूठान एउटा मात्र निर्वाचन क्षेत्र हो । उम्मेदवारको टुंगो लागेपछि थापा पहिलो पटक प्यूठानबाट निर्वाचन लड्ने छन् । थापाले पूर्वप्रधानमन्त्री झलनाथ खनाल र केपी शर्मा ओलीको प्रेस सल्लाहकार भएर काम गरेका थिए ।
करिब तीन दशक लामो समय पत्रकारिता क्षेत्रबाट राजनीतिमा होमिएका थापा पार्टीको केन्द्रीय सदस्य हुँदै हाल पोलिटब्यूरो र प्यूठान इन्चार्ज भएर भूगोल केन्द्रित छन् । खरो र स्पष्ट वक्ताका रूपमा उनको छबी छ । जिल्लामा सत्तारुढ गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल उम्मेदवार बन्ने सम्भावना छ ।