
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सोमवारदेखि कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न रोक लागेको छ । निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशनअनुसार सरकारले सोमवारबाट कर्मचारीको सरुवा, बढुवा, नियुक्तिलगायतका कुनै पनि काम गर्न नपाउने भएको हो ।
आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न आजभन्दा १८ दिन अघि नै आयोगले निर्देशन दिएको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । उनले कुनै पनि ठाउँमा स्वीकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारले १८ दिनको समय दिएको पनि स्पष्ट पारे ।
००००
मंसिर ४ गते हुने चुनावका लागि देशभर १० हजार ८८८ मतदानस्थल कायम भएको छ । आयोगले सोमवार विज्ञप्ति प्रकाशन गरेर मतदानस्थल पुनरावलोकन गरेको बताएको हो । यसअघिको निर्वाचनभन्दा १३२ मतदानस्थल थपेर आयोगले आगामी चुनावको मतदानस्थल तय गरेको छ ।
यसअघि देशभरका १० हजार ७५६ मात्रै मतदानस्थल थिए । आयोगको विज्ञप्तिमा उल्लेख भएअनुसार, देशभरका ४०१ मतदान स्थललाई हटाई नयाँ मतदानस्थल तय गरिएको छ ।
००००
निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको कार्यकाल सम्बन्धमा नेपाल सरकारले ऐन संशोधन गर्नु उपयुक्त नभएको बताएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै संघीय संसदमा पेश भएको केही नेपाल ऐन संशोधन गर्न ऐनबारे आयोगको ध्यानाकर्षण भएको जनाएका छन् ।
आयोगले मंसिर ४ गते निर्वाचन घोषणा गरिसकेको अवस्थामा ऐन संशोधन गर्न उपयुक्त नरहेको पौडेलले जनाएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ मा भएको व्यवस्था बमोजिम निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले संवत् २०७९ साल मंसिर ४ गते निर्वाचनको मिति घोषणा गरेको र सो बमोजिम निर्वाचन आयोगले निर्वाचन कार्यक्रम निर्धारण गरी तयारी गरिरहेको छ ।
००००
साझा प्रकाशनले पुस्तकालय दिवस र दशैँको अवसर पारेर पुस्तक प्रदर्शनी शुरु गरेको छ । प्रकाशनले नेपाली साहित्यको संरक्षण, पाठकहरूको सहजताका लागि भन्दै भदौ १९ देखि ३१ गतेसम्म पुस्तक प्रदर्शनीको आयोजना गरेको हो ।
पुस्तक प्रदर्शनीमा नेपाली साहित्यका विभिन्न विधाका पुस्तक राखिएको साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोख्रेलले बताए । उनले नेपाली साहित्यका कथा, कविता, उपन्यास, निवन्ध र शब्दकोषलगायत विभिन्न पुस्तकहरू प्रदर्शनीमा राखिएको बताए ।
००००
वाणिज्य बैंकहरूको निक्षेपमा सुधार देखिएको छ । पछिल्लो एक सातामा बैैंकहरूमा ११ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । बैंकहरूमा ४४ खर्ब २६ अर्ब रुपैयाँ पुगेको निक्षेप ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकहरुमा चालू आवको साउन लागेदेखि नै निरन्तर घटिरहेको निक्षेप भदौ १० देखि १७ सम्मको अवधिमा भने बढेको देखिएको छ ।
००००
संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका शेरजंग गुरुङ रिहा भएका छन् ।
चौतर्फी दबाबपछि गरुड सेक्युरिटिजका सुरक्षा गार्ड गुरुङ सोमबार साँझ साधरण तारिकका रिहा भएका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार गुरूङलाई साधारण तारिखमा रिहा गरिएको हो ।
००००
मकवानपुरमा जापानी इन्सेफलाइटिस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार सङ्क्रमणबाट जिल्लाको बकैया गाउँपालिका–७ का दुई जना र हेटौँडा उपमहानगरपालिका–३ बसामाडीका एक जनाको मृत्यु भएको छ ।
००००
भारतीय स्थल सेना प्रमुख जनरल मनोज पाण्डले मानार्थ सेनापतिको दज्र्यानी चिन्ह पाएका छन् । सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष पाण्डेलाई राष्ट्रपति कार्यालय शितल निवासमा मानार्थ महारीको दज्र्यानी चिह्न दिएकी हुन् ।
नेपाली सेना र भारतीय सेनाको परम्परामा एक अर्का देशका सेना प्रमुख परिर्वन भएपछि मानार्थ महारथीको दज्र्यानी चिह्न दिने प्रचलन रहेको छ । आफ्नो ५ दिने औपचारिक भ्रमणका क्रममा भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतवार काठमाडौं आएका थिए ।
००००
यसैगरी भारतीय स्थल सेनाका सेनाध्यक्ष जनरल मनोज पाण्डेले २२ करोड बराबरको सामग्री नेपाली सेनालाई हस्तान्तरण गरेका छन् ।
सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार ४ वटा घोडा, माइण्ड प्रोटेक्टिभ भेइकल, मेडिकल सामग्रीलगायतका समानहरूका भारतीय सेनाले दिएको हो । ‘नेपाली सेना र भारतीय सेनाको संयुक्त बायोल्ट्रल कन्सल्डीङ ग्रुपको समितिले तय गरेका सामग्रीहरू अनुदानमा पाएको हौँ’, प्रवक्ता सिलवालले लोकान्तरसँग भने ।
००००
साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । आइतवार सामान्य अंक बढेर बन्द भएको नेप्से परिसूचक सोमवार ४.२९ अंक घटेर १९७३.०१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८२ अंक, फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ ।
००००
लिज ट्रस संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्री निर्वाचित भएकी छन् ।
सोमवार सत्तारूढ कन्जर्भेटिभ पार्टीले घोषणा गरेको परिणामअनुसार ट्रस विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी पूर्व अर्थमन्त्री ऋषि सुनक हुन् ।
ट्रसले ८१ हजार ३२६ मत पाएकी छन् भने ऋषि सुनकले ६० हजार ३९९ मत पाए । बहालवाला प्रधानमन्त्री बोरिस जोनसनले गत जुलाई ७ मा पार्टी प्रमुखबाट राजीनामा दिएका थिए । अनेकौं विवादमा घेरिएपछि उनी पदमा बसिरहन सकेनन् ।