
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनका लागि दलहरूले उम्मेदवार सिफारिस गर्नेक्रम चलिरहेको छ । नेकपा एमाले र नेपाली कांग्रेसका क्षेत्रीय समिति र जिल्ला कमिटीले धमाधम उम्मेदवार सिफारिस गर्दै केन्द्रमा पठाइरहेका छन् ।
केन्द्रको निर्देशन अनुसार दलहरू धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एमालेका कतिपय प्रभावशाली नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । सर्वसम्मत भएका नेताहरूको हकमा कुनै विवाद नहुने र उनीहरू निर्वाचनका उम्मेदवार पक्का भएका छन् ।
एमाले उपाध्यक्ष विष्णु पौडेलको नाम रूपन्देही–२ बाट सर्वसम्मत सिफारिस भएको छ । पौडेलले डेढ दशकयता बुटवल क्षेत्रबाट निरन्तर चुनाव जित्दै आइरहेका छन् । उनीसँग कुन नेताको प्रतिस्पर्धा हुन्छ भन्नेबारे गठबन्धन दलले टुंगो लगाइसकेका छैनन् ।
गृहमन्त्री बालकृष्ण खाँणसहित रुपन्देही–२ बाट ४ जना र रुपन्देही–३ बाट खाँणको नाम सर्वसम्मत सिफारिस भएसँगै उनी ३ नम्बर क्षेत्रबाट चुनाव लड्ने सम्भावना बलियो देखिएको छ । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङले रुपन्देही–२ आफूहरूले पाउनुपर्ने दाबी गर्दै आएका छन् ।
दाङ–२ बाट एमाले महासचिव शंकर पोखरेल सर्वसम्मत सिफारिस भएका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिए । यसअघि प्रदेशसभा निर्वाचन जितेका महासचिव पोखरेलको यसपालि नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महरासँग प्रतिस्पर्धा हुने सम्भवना छ ।
गुल्मी–१ बाट एमाले उपमहासचिव प्रदीप ज्ञवालीको नाम पनि सर्वसम्मत सिफारिस भएको छ । प्रभावशाली नेता ज्ञवालीले गुल्मी–१ बाट २०६४ र २०७४ सालमा निर्वाचन जितेका छन् । २०७० सालमा उनी कांग्रेसका चन्द्र भण्डारीसँग पराजित भएका थिए । क्षेत्र नम्बर २ मा सचिव गोकर्ण विष्टको नाम सर्वसम्मत सिफारिस गर्न प्रयास भइरहेको गुल्मी एमाले सचिव गणेश श्रीपालीले जानकारी दिए ।
अर्घाखाँचीबाट एमाले सचिव टोपबहादुर रायमाझी र प्यूठानबाट पोलिटब्यूरो सदस्य सुर्य थापाको नाम सर्वसम्मत सिफारिस भएको छ ।
रुपन्देही–५ बाट एमालेका युवा नेता तथा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईको नाम सर्वसम्मत सिफारिस गरिएको छ । यो क्षेत्रमा कांग्रेसबाट ३ पटक निर्वाचन जितेका भरतकुमार शाहको पनि सर्वसम्मत नाम सिफारिस भएको छ । पहिलोपटक निर्वाचन लड्न लागेका भट्टराई र शाहबीच मंसिर ४ गतेको निर्वाचनमा प्रतिस्पर्धा हुने पक्का भएको छ ।
पाल्पा–२ बाट एमालेका युवा नेता ठाकुर गैरेको नाम सर्वसम्मत सिफारिस भएको छ । एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले गैरेको नाम सर्वसम्मत सिफारिस गरिएको जानकारी दिए । गैरे पहिलोपटक निर्वाचन लड्ने निश्चित भएको छ । यो क्षेत्रमा गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेको नाम सिफारिस गरेको छ ।
रूपन्देही–३ बाट भने एमाले बौद्धिक नेता घनश्याम भुसालको नाम सर्वसम्मत सिफारिस हुन सकेन । त्यहाँ भुसालसहित ४ जना उम्मेदवार सिफारिस भएका छन् । तिलोत्तमाका निवर्तमान मेयर बासुदेव घिमिरे, लुम्बिनी प्रदेश कमिटी सदस्य यज्ञजित शाह र दुर्गा भुसालको नाम सिफारिस गरिएको छ । २०७४ सालको निर्वाचन जितेका भुसालले निर्वाचन लड्ने चाहना नदेखाएको एमाले नेताहरू बताउँछन् ।
रुपन्देही–२(१) बाट प्रदेशसभा सदस्यका लागि ४ जनाको नाम सिफारिस भएको छ । एमाले पोलिटब्युरो सदस्य लिला गिरी, केन्द्रीय सदस्य शिवराज सुवेदी, पार्टीको कानून आयोगका सदस्य खुमाकान्त पौडेल र युवासंघका उपाध्यक्ष सुमन पुरीको नाम सिफारिस गरिएको छ ।
रुपन्देही–३(२) बाट प्रदेशसभा सदस्यका लागि ४ जनाको नाम सिफारिस भएको छ । नेकपा एमालेको रुपन्देही–३(२) निर्वाचन क्षेत्र समन्वय कमिटीका अनुसार सो निर्वाचन क्षेत्रबाट तुलसीप्रसाद चौधरी, नरबहादुर घर्ती, प्रेम गुरुङ र रामप्रसाद रेग्मीको नाम सिफारिस भएको छ ।
बैठकले आकांक्षीहरू मध्येबाट ४ जनाको नाम सिफारिस गरिएको निर्वाचन क्षेत्र समन्वय कमिटीले जनाएको छ । एमाले केन्द्रीय सदस्य दधिराम न्यौपाने रुपन्देही–१(२) बाट सिफारिस भएका छन् । रुपन्देही–१ बाट पनि एमाले सचिव छविलाल विश्वकर्माको नाम सर्वसम्मत टुंगो लगाउने तयारी भइरहेको एमाले देवदह नगर इन्चार्ज यम रानाले जानकारी दिए ।