११ साउन २०८३, सोमबार

परराष्ट्रमन्त्रीको चीन भ्रमणको बेला जीएसआईको कुरा भएको भन्दै सुजाताले मागिन् संसदमा सरकारको जवाफ

परराष्ट्रमन्त्रीको चीन भ्रमणको बेला जीएसआईको कुरा भएको भन्दै सुजाताले मागिन् संसदमा सरकारको जवाफ
फाइल तस्वीर

परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणको बेला ग्लोबल सेक्युरिटी इनिसेटिभ (जीइसआई)बारे कुरा भएको भन्ने चिनियाँ पक्षको भनाइबारे कांग्रेसकै नेताबाट सरकारको जवाफ माग गरिएको छ । मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शुरुमै कांग्रेस नेतृ सुजाता कोइरालाले सरकारको जवाफ माग गरेकी हुन् । 

‘परराष्ट्रमन्त्री चीन भ्रमणमा जानु भएको थियो । चिनियाँ पक्षबाट जारी विज्ञप्तिमा ग्लोबल सेक्युरिटी इनिसेटिभबारे कुरा भएको उल्लेख छ । चिनियाँ राजदूतले लेखेको लेखमा त्यो आशयका कुरा छन्’, कोइरालाले भनिन्, ‘राष्ट्रिय सभाका अध्यक्षले चीन सरकारका उच्च राजनीतिक सल्लाहकार नेपालले ग्लोबल सेक्युरिटीमा प्रतिबद्धताको लागि धन्यवाद दिएको कुरा आएको छ, यसबारे सरकारको जवाफ माग गर्दछु ।’

कुनै पनि सैन्य एलायन्समा सहभागी नहुने नेपालको परराष्ट्र नीति रहेको भन्दै जनचासोको विषयमा प्रष्ट पार्न सरकारको ध्यानाकर्षण गराउन खोजेको उनले बताइन । ‘नेपाल कुनै देशको सेक्युरिटी एलायन्समा सहभागी हुनुहुँदैन । कुनै सुरक्षा गठबन्धनमा नफस्ने नीति रहेकोमा आश्चर्य लागेर संसदमा बोलेकी हुँ’, पूर्व परराष्ट्रमन्त्री कोइरालाले भनिन् । 

चीनले अगाडि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई)लाई कतिपयले नयाँ सैन्य गठबन्धन भनेर आलोचना गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्