०२ साउन २०८३, शनिबार

गठबन्धनमा भागबण्डा मिलेपछि मात्र कांग्रेसले उम्मेदवार छान्ने

गठबन्धनमा भागबण्डा मिलेपछि मात्र कांग्रेसले उम्मेदवार छान्ने

गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनमा भाग टुंगो लागेपछि मात्रै नेपाली कांग्रेसले आगामी संघ र प्रदेश तहको निर्वाचनमा उम्मेदवार चयन गर्ने बताएका छन् । मंगलवार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले गठबन्धनमा निर्वाचन क्षेत्रको भागबन्डा टुंगो लागेपछि मात्रै आफ्नो पार्टीले उम्मेदवार चयन गर्ने बताएका हुन् । 

गृहमन्त्री खाणले भागबन्डा टुंगो लगाउन कार्यदलमा छलफल भइरहेको जानकारी दिए । उनले कांग्रेसको निर्वाचन क्षेत्रीय समिति, जिल्ला समन्वय समिति र प्रदेश कार्यसमितिले आ–आफ्नो मातहतका निर्वाचन क्षेत्रहरूका लागि उम्मेदवारहरू सिफारिस भने गरिरहेको बताए । 

‘पहिला हामीले कुन निर्वाचन क्षेत्रमा कुन पार्टीको उम्मेदवार उठ्ने त्यो कुराको निर्णय हामीले गठबन्धनबाट गर्नुपर्छ । गठबन्धनको पनि कार्यदल बनेको छ । कार्यदल छलफलमा नै छ’, उनले भने, ‘छलफल गरिसकेपछि कुन जिल्लाको कुन निर्वाचन क्षेत्रमा कुन पार्टीले प्रतिनिधि सभामा उठ्ने, कुन पार्टीले प्रदेश सभामा उठ्ने त्यो कुराको टुंगो लागिसकेपछि हामीले आफ्नो पार्टीको कस–कसलाई उम्मेदवार गराउने त्यो कुराको टुंगो लाग्छ ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवले बेलुकासम्ममा गठबन्धनको भागबन्डा टुंगो लाग्ने विश्वास व्यक्त गरे । उनले भागबन्डाको टुंगो लगाउन सोमवारदेखि प्रदेश र संघीय निर्वाचन क्षेत्रस्तरीय छलफल जारी रहेको जानकारी दिए । 

‘निर्वाचन क्षेत्रगत आधारमा छलफल गरेर सहमति जुटाउने दुई दिनको समय हामीले पाउँछौँ । आज ढिलो रातीसम्म छलफल गरेर सहमतिमा जाने प्रयास हुन्छ । हिजोदेखि प्रदेश र संघीय निर्वाचन क्षेत्रस्तरीय छलफल जारी छ । आज पनि हामी बसिरहेका छौँ । ६ बजे बेलुकादेखि फेरि बसेर ढिलोसम्म आज हामी सहमति गर्ने प्रयास गर्छौं’, उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्