
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल नयाँ बन्ने भवनको ठेक्का प्रक्रियालाई यथास्थितिमा राख्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले अन्तरिम आदेश जारी गरेको छ । गत साउन २५ मा न्यायाधीश रामप्रसाद ओलीको इजलासले ठेक्का प्रक्रिया अघि नबढाउन अल्पकालीन आदेश जारी गरेकोमा गत भदौ १७ गतेको अन्तरिम आदेशमार्फत त्यसलाई निरन्तरता दिएको हो ।
लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले निश्चित कम्पनीलाई मात्रै मिल्ने गरी मिलोमतोमा अस्पताल भवन निर्माणको लागि ठेक्का आह्वान गरेको भन्दै निर्माण व्यवसायी बलिभद्र रानाले रिट दायर गरेका थिए । उक्त रिटमा अदालतले तत्काल प्रक्रिया रोक्न आदेश दिएको हो ।
न्यायाधीशद्वय कृष्णबहादुर थापा र रमेशराज पोखरेलले बोलपत्रको मापदण्डमा समेत फरक पर्ने गरी संशोधन गरेको देखिएको र यसबारे सार्वजनिक खरिद अनुगमन कार्यालयबाट समेत प्राधिकरणलाई दुईपटक पत्र पठाएर ध्यानाकर्षण गराएको भन्दै सुविधा र सन्तुलनको दृष्टिबाट अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश सुनाएको छ ।
प्रदेश विकास पूर्वाधार प्राधिकरणले ६ अर्ब ७० करोड रुपैयाँ लागतमा अस्पतालको १० तले भवन निर्माणको लागि गरेको टेण्डरमा निश्चित निर्माण व्यवसायीलाई मात्र टेण्डर प्रक्रियामा सहभागी हुन मिल्ने गरी प्रावधान राखेको भन्दै निर्माण व्यवसायीहरूले विरोध जनाएका थिए ।