
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण बिहिवारदेखि काठमाडौंमा हुँदैछ ।
दीगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने विश्वासका साथ नेपाल उद्योग परिसंघले सरकारसँगको साझेदारीमा सन् २०१४ देखि नेपाल पूर्वाधार सम्मेलन गर्दै आएको छ ।
नेपाल पूर्वाधार सम्मेलनमा यातायात, उर्जा, शहरी विकास, खानेपानी तथा सरसफाइलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधार, पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने; दिगो विकास लक्ष्यहरू हासिल गर्न मद्दत गर्ने हरित, जलवायु, उत्थानशील पूर्वाधार परियोजनामा गहन छलफल हुनेछ ।
सम्मेलनको थिम विकासका लागि पूर्वाधार रहेको छ ।
सन् २०१९ मा भएको पूर्वाधार सम्मेलनपछि कोभिड–१९ का कारण सन् २०७६/७७ मा नेपालको आर्थिक वृद्धि २.३७ प्रतिशतले संकुचित भयो ।
आर्थिक गतिविधिहरू विश्वव्यापी रूपमा ठप्प हुँदा विश्वले आपूर्तिमा गम्भिर अवरोधको सामना गर्नुपर्यो ।
नेपालले आर्थिक वर्ष २०७९/८० मा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।
कोभिड–१९ पछिको प्रोत्साहन एवं उच्च अंकको आर्थिक बृद्धि हासिलका लागि पूर्वाधारमा लगानी अनिवार्य रहेको परिसंघले जनाएको छ ।
परिसंघले भनेको छ,‘नेपाल पूर्वाधार सम्मेलनले आर्थिक पुनरुत्थान, हरित पूर्वाधारमा ध्यान केन्द्रित गर्दै पूर्वाधारमा लगानी गर्नु नै उत्तम शर्त हो भन्ने धारणालाई सुदृढ पार्ने विश्वास लिएका छौं । यस्तै सम्मेलनले नवीन वित्तीय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधि र डिजिटल रूपान्तरणलगायतका विषयमा नीतिगत सुधारको अवधारणालाई पुनर्जीवित गर्नेछ ।’
पूर्वाधारका लागि लगानी प्रबद्र्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन रुपमा छलफल हुनेछ ।
सम्मेलनको विभिन्न सत्रमा पूर्व प्रधानमन्त्री, संघीय सरकारका मन्त्रीहरु, प्रदेशका मुख्यमन्त्रीहरु, महानगरपालिकाका मेयरहरु, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, एशियाली विकास बैंक, विश्व बैंक, प्राध्यापकहरुको प्रस्तुती हुनेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ आयोजक रहेको नेपाल पूर्वाधार सम्मेलनको सह आयोजकमा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय रहेका छन् ।
पूर्वाधार सम्बन्धी महत्वपूर्ण यस सम्मेलनमा विकासप्रेमी व्यक्ति तथा सरोकारवाला संस्थाहरुलाई सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं । सम्मेलनमा सहभागि हुनका लागि https://registration.nepalinfrastructuresummit.com.np/ बाट पनि दर्ता गर्न सकिन्छ ।
सम्मेलनको टाइटल स्पोन्सरमा सगरमाथा सिमेन्ट र जेसिबी, प्लाटिनम स्पोन्सरमा नेपाल इन्भेष्टमेन्ट बैंक, गोल्ड स्पोन्सरमा नेपाल दूरसञ्चार प्राधिकरण र भूमी रहेका छन् । यसैगरी सिल्भर स्पोन्सरमा स्ट्याण्डर्ड चार्टर्ड, आइएमई जनरल इन्स्योरेन्स, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक रहेका छन् ।