
आगामी चुनावमा तालमेल गर्ने निर्णय गरेको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँट अन्तिम टुंगोमा पुर्याउनका लागि बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार दिउँसो १ बजे कार्यदल सदस्यसहित शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।
कार्यदलले बुधवार साँझ अहिलेसम्म भएको सहमति र सिट संख्या उल्लेख गरेर प्रतिवेदन तयार गरेको छ । सोही प्रतिवेदनमा आजको बैठकमा शीर्ष नेताहरूले छलफल गर्ने कार्यदलका एक नेताले बताए ।
यसअघि शीर्ष नेताहरूको बैठक बिहीबार विहान ९ बजेका लागि बोलाइएको भए पनि बैठक दिउँसो १ बजेका लागि सारिएको थियो ।
कार्यदलका करिब एक सय हाराहारीको सिटमा कुरा मिलेको र बाँकी सिटमा भने सहमति खोज्ने जिम्मा शीर्ष नेतालाई दिन लागिएको कार्यदलका एक नेताले जानकारी दिए ।
‘कार्यदलले सक्ने जति निर्वाचन क्षेत्र र सिट संख्याको बारेमा छलफल गरेर प्रारम्भिक प्रतिवेदन बनाएको छ । त्यही प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउने र अहिलेसम्मको छलफलको ब्रिफिङ आज हुन्छ’, ती नेताले भने ।