०३ असार २०८३, बुधबार

आफ्नै खुट्टामा उभिने माध्यम बन्यो सीपमूलक तालिम

आफ्नै खुट्टामा उभिने माध्यम बन्यो सीपमूलक तालिम

बागलुङ बजारको रामरेखा निवासी चित्रकुमारी रोकाले ६ महिनादेखि ‘लेडिज टेलरिङ’ नामक कपडा सिलाउने पसल सञ्चालनमा ल्याएकी छन् । उनले आफ्नै कपडा पसल सञ्चालन गर्ने सोच समेत बनाएकी थिइन् तर बागलुङमा रहेको धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्रले प्रदान गरेको ४ महिने सीपमूलक तालिमपछि उनी आफ्नै खुट्टामा उभिन सफल भइन् ।

रोका मात्रै होइन, बागलुङ नगरपालिका–८ सिगाना निवासी पूजा परियारले बागलुङ एफएम चोकमा आफ्नै कपडा सिलाइकटाइ पसलको स्थापना गरेकी छन् । रोका र पूजा त एक उदारणीय पात्र मात्रै हुन् ।

केन्द्रले दिएको सीपमूलक तालिम प्राप्त गर्ने अधिकांशले रोजागारी पाएका छन् भने केहीले आफैं उद्यम स्थापना गरेका छन् । ‘फुर्सदको समय सदुपयोग गरौं भनेर तालिमका लागि केन्द्रमा पुगें, ४ महिना तालिम सकेपछि मनमा व्यवसाय गर्ने उत्साह छायो, कपडा सिलाइ तालिमपछि आफ्नै पसल राखे, अहिले आफ्नो घर खर्च चलाउन सक्ने भएकी छु,’ तालिमपछि आफ्नै व्यवसाय सञ्चालन गरेकी रोकाले भनिन्, ‘सिलाइकटाइको पहिलो चरणको सीपमूलक तालिमसमेत उत्तीर्ण गरी प्रमाणपत्र समेत पाउँदा खुशी लागेको छ ।’

टेलरिङ तालिमबाट विशेष गरी एकल महिला तथा दलित र जनजाति महिला बढी लाभान्वित भएका छन् । सिलाइकटाइ तालिम मात्रै नभएर विद्युतीय र ग्रिल उद्योग तालिम प्राप्त युवाले समेत अहिले राम्रो काम पाइरहेका छन् । तालिमपछि वैदेशिक रोजगारीका लागि समेत सहज हुने र नेपालमा समेत आफ्नो खर्च धान्न सक्ने काम पाइने भएकाले विद्युतीय जडानको तालिम सिकेको पर्वत जिल्लास्थित पाङका सुजन नेपालीले बताए ।

केन्द्रले ४२५ जनालाई ४ प्रकारका सीपमूलक तालिम दिएर युवायुवतीलाई आत्मनिर्भरको बाटोमा हिँडाएको छ । केन्द्रले निःशुल्क रूपमा विद्युत् जडान, पम्पिङ, सिलाइकटाइ र ग्रिल उद्योगको तालिम दिँदै आएको छ । एकल महिला, दलित, पिछाडिएको वर्ग र एकल महिलालाई प्राथमिकतामा राखेर सीपमूलक तालिम दिइरहेको  केन्द्रका अध्यक्ष केबी रानामगरले बताए ।

‘हामीले तालिम दिएका धेरैले रोजगारी पाएका छन् केहीले विदेश गएपछि समेत राम्रो काम पाएका छन्, केहीले त आफ्नै व्यवसाय शुरू गरेको पाइएको छ,’ मगरले भने, ‘हामीले धेरै भन्न सकिँदैन तालिम दिएका प्रशिक्षार्थीले आफ्नो रोजीरोटीका लागि सहयोग पुगेको छ जुन उनीहरूले गरेको कामबाट पुष्टि भइसकेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्