
सीट भागबण्डामा आफूहरुलाई विभेद गर्न खोजिएको भन्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रुपमा असन्तुष्टि जनाएपछि सत्ता गठबन्धनमा तरंग सिर्जना भएको छ । सबै दलले जित्ने गरी सीट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने भन्दै यादवले भदौ २३ गते कडा अभिव्यक्ति दिएका थिए । मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको वीरगञ्जमा कार्यालय उद्घाटन कार्यक्रममा सबैको भावनालाई सम्मान गर्दै न्यायोचित सीट बाँडफाँट नभए दलहरुबीच गठबन्धनको कुनै औचित्य नरहने उनको भनाइ थियो ।
उनले एक्लै चुनाव लड्ने अवस्था पनि आउन सक्ने भन्दै कार्यकर्तालाई तयार रहन निर्देशन समेत दिएका थिए । एकातर्फ जसपाको प्रतिस्पर्धी लोसपालाई गठबन्धनमा ल्याउने प्रयास र अर्कोतर्फ आफ्नै पार्टीले मागेको सीट पनि नपाउने अवस्था बनेपछि यादव चिढिएको बताइएको छ ।
गठबन्धनको घटक जसपा चिढिएपछि अब गठबन्धन टुक्रिने त होइन भन्ने भय सम्बद्ध दलमा देखिएको छ । सोही भयका बीच नेताहरुले गठबन्धन नफुट्ने र एकताबद्ध रहने अभिव्यक्ति दिएका छन् । यस सम्बन्धमा गठबन्धनमा गम्भीर छलफल हुने बताइएको छ ।
कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताए । शुक्रबार नेपाली कांग्रेस नवलपुरले आयोजना गरेको जनताका साथमा कांग्रेस अभियानको समापन तथा बिपी जयन्ती कार्यक्रममा कोइरालाले यस्तो बताएका हुन् । कोइरालाले भने, ‘नेपाली कांग्रेस एक्लै चुनावमा जाँदा पनि बहुमत नजिक पुग्छ तर अहिलेको राष्ट्रिय आवश्यकता भनेको गठबन्धन हो ।’ कोइरालाले आफू पनि गठबन्धन गर्न हुँदैन भन्ने पक्षमा भएको भए पनि अहिलेको आवश्यकताले गठबन्धन गरेर निर्वाचनमा जानुपरेको बताए ।
यता प्रधानमन्त्री शेरबहादुर देउवाले भने गठबन्धन ठीक छैन भनेर टुटाउनका लागि षड्यन्त्र भइरहेको प्रतिक्रिया दिएका छन् । शुक्रवार जनताको साथमा कांग्रेस अभियान प्रथम चरणको समापन कार्यक्रम एवं विपी कोइरालाको १०९औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान कार्यक्रमलाई चितवनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले गठबन्धन एकताबद्ध भएर अघि बढ्ने पनि स्पष्ट गरे ।
यसैगरी सञ्चारमन्त्री तथा सत्ता गठबन्धनको सिट फाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जसपा गठबन्धनबाट बाहिरिने कुरा कल्पनाबाहिरको रहेको बताए । उनले न्यायोचित ढंगले सिट बाँडफाँट हुने भन्दै सबैले जितेको भाव प्रस्तुत गरिने बताए ।
‘न्यायोचित ढंगले सिटको बाँडफाँड हुन्छ । सबैले मैले जितेको छु भन्ने भावका साथ सिट बाँडफाट हुन्छ’, उनले भने, ‘जसपा गठबन्धनबाट बाहिर हुन्छ भन्ने कुरा कल्पना भन्दा बाहिरको कुरा हो ।’
यसैगरी काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले संविधानको रक्षा गर्ने एजेण्डा बोकेका दल गठबन्धन तालमेलको अवस्थामा पुगेको बताउँदै गठबन्धन कांग्रेसका लागि रुचि नभई बाध्यता भएको बताए । गठबन्धनमा सिट बाँडफाँट मिलाउँदा कांग्रेसले पाउने सिट संख्या घट्नसक्ने भन्दै उनले त्यस्तो अवस्थामा नेताले टिकट नपाउने अवस्थालाई बुझिदिन आग्रहसमेत गरे ।
गठबन्धन गर्दा कांग्रेसलाई बढीभन्दा बढी फाइदा हुने र क्षति कम हुनेगरी नै गठबन्धनमा सिट बाँडफाँट बताउँदै उनले गठबन्धनका उम्मेदवार जो भए पनि जिताउने अभियानमा लाग्नुपर्नेमा जोड दिए ।
यसैबीच सत्ता गठबन्धनको बैठक शनिबार बस्दैछ । शुक्रबार नै बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तता देखाउँदै शनिबारका लागि सारिएको थियो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको छ । शनिबारको बैठकमा समग्र विषयमा छलफल हुने नेताहरुको भनाइ छ ।