२९ असार २०८३, सोमबार

दार्चुलामा बाढीमा परेर १ जनाको मृत्यु

दार्चुलामा बाढीमा परेर १ जनाको मृत्यु

शुक्रवार रातिदेखि परेको अविरल वर्षाले दार्चुला जिल्लाको सदरमुकामस्थित खलंगाको बंगाबगड क्षेत्रमा धनजनको क्षति पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दका अनुसार बाढीमा करीब डेढ दर्जन घर बग्नुका साथै ६ जना बेपत्ता भएका छन् भने १ जनाको शव फेला परेको छ । 

जिल्लाको महाकाली नगरपालिका–३ डुङ्गरी क्षेत्रमा एकै घरका ४ जना धनसिंह, मानमती, दीपक, दिनेश कार्की बेपत्ता भएका छन् । जिल्लाको नौगाड गाउँपालिकामा ३५ वर्षीय चिमणे ठगुन्नाको मृत्यु भएको र १ जना बेपत्ता हुनुका साथै २ जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा नौगाड गापाका कासी ठगुन्ना र रम्बा ठगुन्ना रहेका छन् ।

घाइतेलाई उपचारको लागि हेलिकोप्टरमार्फत लैजाने व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । जोखिम क्षेत्रमा सुरक्षाकर्मीले राति नै मान्छे अन्यत्र सारेको छ ।

बाढीले दर्जनौं घर बगाउनुका साथै लास्कु खोलाको झोलुङ्गे पुल पनि बगाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार रातिदेखि अहिलेसम्म उद्धार कार्य जारी नै रहेकाले क्षतिको पूरै विवरण प्राप्त हुन बाँकी रहेको छ ।
 
महाकाली नगरपालिका–३ लास्कु खोलाले रोकेर राखेका ७ वटा गाडी समेत बगाएको छ । घटनास्थल क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् । 

शुक्रवार रातिदेखि परेको अविरल वर्षाले दार्चुला तिंकर सडकमा पर्ने लास्कु खोला माथिको झोलुङ्गे र मोटर पुल समेत बगाएको छ । बिहानदेखि पानी पर्न छोडे पनि उक्त क्षेत्रमा नदीले अझै कटान गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्