शहरी विकासमन्त्री मेटमणी चौधरीले धोबीखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रणका लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने बताएका छन् । आइतवार प्रस्तावित धोबीखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।
उनले सरकारले धोबीखोला करिडोर निर्माणको लागि अब बस्ने मन्त्रिपरिषद्को बैठकले छुट्टै आयोजना बनाउने प्रस्ताव पास गर्ने बताए । मन्त्री चौधरीले करिडोर निर्माणमा सरकारले जनताहरू त्यहाँबाट विस्थापित हुनु नपर्ने गरी बनाउने प्रतिबद्धता जनाए । धोबीखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रणको विषयमा संसद गगनकुमार थापाले विषेश पहल गर्नुपर्ने बताए । उनले थापाको पहललाई शहरी मन्त्रालयले शतप्रतिशतभन्दा बढी सहयोग गर्न तयार रहेको बताए ।
‘धोबीखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रणको विषयमा सांसद गगनकुमार थापाले विषेश पहल गर्नुपर्छ । उहाँको निर्वाचन क्षेत्र पनि हो । उहाँलाई निर्वाचनमा भोट हालेका जनता पनि हुन् । उहाँलाई मन्त्रालयले १०० प्रतिशतभन्दा माथि सहयोग गर्न तयार छ’, उनले भने, ‘यो करिडोरलाई फरक आयोजना बनाएर अगाडि बढाउने तयारीमा छौं । करिडोर क्षेत्रमा अनुगमन गरेर त्यहाँका स्थानीय जनताहरुको माग अनुसार समस्याको समाधान गर्न सकिन्छ । अब बस्ने मन्त्रिपरिषद्को बैठकमा छुट्टै आयोजना बनाएर करिडोर बनाउने प्रस्ताव पास हुन्छ ।’
मन्त्री चौधरीले कोरिडोरको विषयमा आफूले करिडोर क्षेत्रमा अनुगमन गरेर त्यहाँका स्थानीय जनताहरूको मागअनुसार समस्याको समाधान गर्ने बताए । उनले करिडोरलाई विवादित बनाउने भन्दा पनि समस्या समाधान गर्न मात्रै छलफल गर्नुपर्ने भन्दै जनतालाई पीडा दिने खालका विषयमा छलफल गर्नु नहुने बताए ।