०५ असार २०८३, शुक्रबार

सीटीईभीटी सुर्खेतका तत्कालीन कार्यालय प्रमुख भीमकान्तसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सीटीईभीटी सुर्खेतका तत्कालीन कार्यालय प्रमुख भीमकान्तसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सुर्खेतस्थित प्रादेशिक कार्यालयका तत्कालीन कार्यालय प्रमुख भीमकान्त लामिछानेसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. ३ स्थित चामुण्डा माध्यमिक विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट विभिन्न तालिम सञ्चालनका लागि प्राप्त रकममा अनियमितता भएको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको हो । 

विद्यालयमा सञ्चालन गरिएको तालिममा ३ करोड ४३ लाख ८८ हजार ८१६ रुपैयाँ  अनियमितता भएको भन्दै अख्तियारले आइतवार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । 

सीटीईभीटीका तत्कालीन कार्यालय प्रमुख मोहनबहादुर कार्की, लेखा अधिकृत शिवराम रोकाय, चामुण्डा माध्यमिक विद्यालय बिन्द्रासैनी नगरपालिका–३ हाडाकोटका तत्कालीन प्रधानाध्यापक जयप्रसाद तिमिल्सेना, विद्यालयका सहलेखापाल नरेशबहादुर शाही, विद्यालय व्यस्थापन समिति अध्यक्ष नन्दबहादुर शाहीविरूद्ध मुद्दा दर्ता गरिएको छ ।

त्यसैगरी इलाइट एण्ड डिभलपमेन्ट कन्सल्ट्यान्ट सञ्चालक उपेन्द्रकुमार शाही, धुपेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्रालयका तत्कालीन शाखा अधिकृत पदमबहादुर बुढा, सीटीईभीटीका तत्कालीन सहायक प्रशिक्षक गंगाराज शाही, प्रशिक्षक हिराबहादुर शाहीलाई पनि विपक्षी बनाइएको छ । 

सिधै निजी संस्थाले प्रशिक्षार्थी छनोट गरेको, कार्यविधिअनुसार मुख्य र सहायक प्रशिक्षक नतोकिएको, सामान खरिद गरेको भन्ने झुठा बिलहरू पेश गरेको र खरिद सामान आम्दानी तथा खर्च गरेको नदेखिएको अभियोगपत्रमा उल्लेख छ ।  

अख्तियारले तालिम सञ्चालनका लागि चाहिने सामान नै खरिद नगरिएको भन्ने देखिँदा–देखिँदै तालिम सञ्चालन भएको भनी रितपूर्वकका बिल–भरपाई, कागजात नराखी, लेखाङ्कनसमेत नगरी, नक्कली तथा झुठ्ठा बिल भरपाई कागजातहरू पेश गरी सो विद्यालयबाट गोश्वारा भौचरसमेत नउठाई सिधै व्यक्ति तथा संस्थालाई रकम भुक्तानी दिई खर्चसमेत गरेको अभियोगपत्रमा उल्लेख गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्