२८ जेठ २०८३, बिहीबार

प्रकाशमानलाई रविन्द्रको प्रतिउत्तरः मैले त अध्यक्षबाट राजीनामा दिएँ, तपाईंले राजनीतिबाटै दिने कि ?

प्रकाशमानलाई रविन्द्रको प्रतिउत्तरः मैले त अध्यक्षबाट राजीनामा दिएँ, तपाईंले राजनीतिबाटै दिने कि ?

साझा विवेकशील पार्टीका नेता रविन्द्र मिश्रले नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई प्रत्युत्तर फर्काएका छन् । शनिवार सिंहले मिश्रलाई २ वर्ष पनि पार्टी टिकाउन नसकेको भन्दै ब्यंग्य कसेपछि मिश्रले आइतवार जवाफ फर्काएका हुन् । मिश्रले सिंहलाई १५ वटा प्रश्न गरेका छन् । 

‘मलाई व्यंग्य गर्ने ‘वरिष्ठ नेता’लाई १५ प्रश्न’ शीर्षकमा मिश्रले सिंहलाई प्रश्न गरेका छन् । 

मलाई व्यंग्य गर्ने ‘वरिष्ठ नेता’लाई १५ प्रश्नः

लगातार १५ वर्ष (तीन पटक) सांसद भइसकेका एकजना ‘वरिष्ठ नेता’ले मलाई नराम्रैसँग व्यंग्य गर्नुभएछ । उहाँले यसअघिको चुनावमा त मेरो दिवंगत बुबालाई घोचपेच गर्नुभएको थियो । अहिले मलाई गर्नुभएछ, त्यो चाहिँ ठीकै भयो । तर, उहाँलाई केही प्रश्न सोध्नै मन लाग्योः

१. पन्ध्र वर्ष सांसद हुँदा, संसद चलेका कूल दिनहरूमा तपाईं कति पटक संसदमा उपस्थित हुनुभयो ? उपस्थित नभएको दिनको भत्ता खानुभयो कि भएन ?
२. संसद भनेको देशको नीति–नियम बनाउने थलो हो । तपाईंले तात्कालिक र दूरगामी राष्ट्रिय महत्वका के–के विषयमा कति पटक बोल्नुभयो ? बोल्नका लागि मात्र बोल्नुभयो कि त्यसको कुनै ठोस परिणाम पनि आयो ?
३. तपाईं देशको राजधानी काठमाडौंको १५ वर्षदेखिको सांसद । राजधानी शहरलाई व्यवस्थित रूपमा पूर्वाधार विकास गर्न, सफा, सुग्घर, धुलोधुवाँ नियन्त्रित, ट्राफिक जाम न्यून बनाउन, खुला क्षेत्र जगेर्ना गर्न संसदमा कति पटक आवाज उठाउनु भयो ? फेरि तपाईं त कुनै बेला वातावरणमन्त्री पनि हुनुहुन्थ्यो !
४. काठमाडौं सम्पदाको शहर हो । सम्पदा संरक्षणका लागि संसदमा कुनै आवाज उठाउनु भयो कि ?
५. बागमती नदी तपाईंको पनि निर्वाचन क्षेत्र भएर बग्छ । तपाईं युवा हुँदा बागमती नदीको पानी पिउन मिल्थ्यो । अहिले छुन पनि हिचकिच्याउनु पर्छ । नदीनाला सफाइका लागि केही काम गर्नुभयो ?
६. त्यो सांसद विकास कोष भन्ने छ नि ? त्यो खासमा बाहालवाला सांसदलाई ‘ठेकदार’ बनाएर अर्को चुनाव जित्न सजिलो होस् भनी राज्यको ढुकुटीबाट अर्बौँ खर्च हुने गरी छुट्याइएको बजेट हो । तपाईंले त्यो लिनु भयो कि भएन ? वास्तवमा भन्ने हो भने तपाईंले संसदमा त्यसको घनघोर विरोध गर्नु पथ्र्याे नि, हगी ?
७. तपाईं मन्त्रीदेखि उपप्रधानमन्त्रीसम्म हुँदा सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहका लागि केही काम गर्नुभयो कि ? सुशासनका लागि सरकारी कर्मचारीहरूको ‘दलीय’ युनियन हुनु हुँदैन भन्नुभयो ? अनि नि, तपाईंको पार्टीको विद्यार्थी संगठनले विश्वविद्यालयमा ३ वर्षमा ३०० दिन तालावन्दी गर्दा र बेलाबखत तोडफोडमा उत्रिँदा विरोध गर्नुभयो ?
८. इमानदार र स्वच्छ छवि भएको नेपालको पहिलो महिला प्रधानन्यायाधिश सुशीला कार्कीलाई राजनीतिक स्वार्थका कारण महाअभियोग लगाउँदा त्यसको विरूद्ध बोल्नुभयो कि ?
९. साँच्ची, नेपाली पुरूषसँग विवाह गरेलगत्तै विदेशीलाई नागरिकता दिने तर देशभित्रकै महिला र पुरूषलाई विभेद गर्ने नागरिकता विधेयक तथा एमसीसी, एसपीपीबारे चाहिँ तपाईंको धारणा के रह्यो ?
१०. द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्ने त्यतिबेला भएका जघन्य अपराधका पीडितलाई न्याय दिलाउने सम्वन्धमा जुन अत्याधिक ढिलासुस्ती भएको छ, त्यसबारे खै तपाईंले कतै केही गर्नु भएन । त्यो त गम्भिर विषय हो नि । अलि चासो दिनु पर्थेन ?
११. हुन त, बिचरा आफ्नै शुभेच्छुक, सदस्य, नेताको हातखुट्टा गिँड्ने, घाँटी रेट्नेहरूलाई ‘भोट देऊ’ भन्दै हिँड्नु परेको छ । त्यो त अति भएन र भन्या ?
१२. तपाईं पार्टीको उपसभापति र महामन्त्री हुँदा पार्टीभित्रको विकृति हटाउन, पार्टीको आर्थिक पारदर्शिता बढाउन केही गर्नुभयो ?
१३. अनि गत महाधिवेशनमा तपाईंले आफन्तलाई लाभ हुन्छ भनेर अन्तिम घडीमा बेइमानी गर्दा तपाईंको पार्टीमा नयाँ नेतृत्व आउन नसकेको होइन ?
१४. झण्डै एउटा कुरा बिर्सिएको। गएको निर्वाचनमा एकजना नैतिकताहीन पत्रकारलाई मेराविरूद्ध शृंखलाबद्धरूपमा लेख लेख्न लगाउने चाहिँ को रे ? तपाईंले चिन्नुभएको छ भन्ने सुनेको थिएँ । छ भने बताइदिनोस् न, कृपया ।
१५. तपाईंले मलाई दुई वर्ष पनि पार्टी टिकाउन नसक्ने भन्नु भएछ । मैले त विपी, कृष्णप्रसाद र गणेशमानहरूको आदर्श नै यो देशको हितमा रहेछ भन्ने बोध भएपछि मार्ग परिवर्तन गरेको हुँ । गत स्थानीय चुनावमा नराम्रो नतिजा आएपछि अध्यक्ष पदबाट राजीनामा दिएको हुँ ।

तपाईंले त ती तिनै महान् नेताका आत्मा मारिदिनुभयो । १५ वर्ष सांसद, मन्त्री, उपप्रधानमन्त्री, पार्टीको उपसभापति, महामन्त्री भएर खै केही गर्न सक्नुभएन । मौका पाए कोही नबस्ने देश बनाउनु भयो । राष्ट्रपतिदेखि प्रधानमन्त्री, सर्वोच्च, प्रहरी, प्रशासन, अख्तियार, सबैलाई राजनीतिकृत, भ्रष्ट र असक्षम बनाइदिनुभयो । खै के भनुँ ! अहिले बेकारमा मलाई व्यंग्य गर्नुहुन्छ । मैले त पार्टी अध्यक्षबाट राजीनामा दिएँ, तपाईं चाहिँ राजनीतिबाटै राजीनामा दिने कि ?

मनमा खर्रर आएको मात्र लेखेको हुँ । अहिलेलाई यति नै । छुटेका कुरा पछि गर्दै जाउँला । नमरी बाँचे, कालले साँचे भेटौँला कुनै दिन !
 
तपाईंको व्यंगयोग्य नव–राजनीतिकर्मी
रवीन्द्र मिश्र

salt training

कमेन्ट गर्नुहोस्