
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
निर्वाचन आयोगले मंसिर ४ गतेको चुनावका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउन दलहरुलाई असोज २ र ३ गतेको समय प्रदान गरेको छ। आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम निर्वाचन समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम निर्धारण गरी नेपाल राजपत्रमा प्रकाशित गरिसकेको जनाएको छ ।
उक्त कार्यक्रम बमोजिम राजनीतिक दलहरुलाई बन्दसूची पेश गर्न असोज २ देखि ३ गतेसम्म समय दिइएको हो । यस्तै उम्मेदवारको बन्दसूची छानबिन गरी आवश्यकता अनुसार सच्याउन दललाई सूचित गर्न असोज ४ देखि ९ गतेसम्मको समय दिइएको छ ।
सो बमोजिम राजनीतिक दलहरुले उम्मेदवारको बन्द सूची संशोधन गरी पेश गर्न असोज १० देखि १६ गतेसम्मको अवधि निर्धारण गरिएको आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
००००
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आइतबार चौथो दिन बयान दिएका छन् । बयान नसकिएकाले मंगलबार थप बयान हुने तय भएको छ ।
सिंहदरबारमा बसेको समितिको बैठकमा बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई आँच आउने गरी आफूले कुनै पनि काम नगरेको र आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै पनि कारण नभएको बयान पुनः दोर्होयाएका छन् ।
००००
जबराले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गा र अर्थमन्त्री विष्णु पौडेलले बजेट व्यवस्था गरिदिएका कारण सर्वोच्च अदालतको भवन निर्माण सम्भव भएको पनि बताएका छन् । प्रतिनिधि सभाको महाभियोग सिफारिश समितिमा आइतबारको बैठकमा २५ औं प्रश्नको जवाफ दिने क्रममा जबराले भवन निर्माण प्रक्रिया नेपालको प्रचलित कानून अनुसार नै भएको बताएका हुन् ।
००००
महाभियोग प्रस्ताव टुंगो नलाग्दै संसद्को कार्यकाल सकिने भएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा फेरि सर्वोच्च अदालत फर्किने कसरतमा लागेका छन् । जबराले निकटस्थहरूसँग आफू असोज २ पछि सर्वोच्च फर्किने दाबी गर्न थालेको उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।
जबराको उक्त तयारी सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धन पनि जानकार छ । गठबन्धन दलहरू जबरालाई फर्किन नदिन के गर्न सकिन्छ भन्ने छलफलमा छन् ।
प्रधानन्यायाधीशको रूपमा जबराको कार्यकाल आगामी मंसिर २७ गतेसम्म छ । तर, उनीविरुद्धको महाभियोग प्रस्ताव प्रक्रियामै रहँदा संसद्को कार्यकाल भने आगामी असोज १ नै सकिँदैछ ।
००००
मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने भन्दै विज्ञहरुले त्यसलाई रोक्नुपर्ने सुझाव राखेका छन् । संघीय संसदको विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्का सामू बरिष्ठ सञ्चारकर्मीहरुले पत्रकारको अहित गर्ने कानुन ल्याउने प्रयास भएकाले समितिले खारेज गर्नुपर्ने बताए ।
००००
चाड पर्व नजिकिँदै गर्दा आवश्यक उपभोग्य वस्तुहरुको व्यवस्थापन र बजार अनुगमनका लागि नेपाल सरकारले सम्बन्धित मन्त्रालय र निकायलाई सक्रिय तुल्याएको छ ।
नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीको संयोजकत्वमा रहेको संयुक्त बजार अनुगमन प्रणाली, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा आसन्न चाडपर्वमा वस्तु तथा सेवाको सहज आपूर्ति र व्यवस्थापनका विषयमा केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ६२औँ बैठकले सो निर्देशन दिएको हो ।
००००
राप्रपा नेपालले भाद्र २९ गतेदेखि गर्ने भनिएको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको स्वरुप परिवर्तन गरिएको छ । निर्वाचन आचारसंहितालाई दृष्टिगत गर्दै आइतबार बसेको सचिवालय बैठकले स्वरुप परिवर्तन गरेको राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।
जस अनुसार स्वाभिमान यात्राको सट्टा विभिन्न जिल्लाहरुमा चुनावी सभाहरु आयोजना गरिने तय भएको उनको भनाइ छ । यस्तै पर्साको वीरगञ्जमा हुने तय गरिएको पार्टीको राष्ट्रिय भेला आगामी असोजको पहिलो हप्ता मकवानपुरको हेटौंडामा गर्ने बैठकले निर्णय गरिएको छ ।
००००
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक आइतबार अपरान्ह गृह मन्त्रालयमा बसेको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार दार्चुला जिल्लामा शुक्रवार राति गएको बाढी पहिरोमा परी घाइते र विस्थापित भएकाहरूलाई उद्धार, राहत र पुनस्र्थापना यथाशक्य गर्ने निर्णय बैठकले गरेको छ । विपद्बाट प्रभावितलाई खाद्यान्न सडकबाट र्पुयाउन समस्या भएमा हेलिकोप्टरबाट भए पनि यथाशक्य र्पुयाउने निर्णय पनि बैठकमा भएको छ ।
००००
टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा भएको छ । नेपाली भाषाका कविहरूको प्रतिभालाई संसारसामु प्रस्तुत गर्ने उद्देश्यका साथ टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा गरिएको हो ।
कवि प्रतिभालाई लक्षित गरी पहिलो पटक यो कार्यक्रम ल्याउन लागिएको हो । गामबेसीका कवि क्षेत्रप्रताप अधिकारीको स्मृतिमा बन्न लागेको यो कार्यक्रमलाई अमनप्रताप अधिकारीले निर्देशन गर्ने जनाइएको छ । शोमा भाग लिन इच्छुक कविहरूले कार्यक्रमको इमेल, ह्वाट्स्याप, भाइबर, फेसबुकजस्ता डिजिटल प्लेटफर्ममार्फत आफ्ना कविता आफैँले वाचन गरेको २ मिनेटसम्म लामो भिडियो पठाएर डिजिटल अडिशन दिन सक्नेछन् ।
००००
लगानी बोर्ड नेपालले दिगो विकास लक्ष्य प्राप्तिका लागि हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने सम्बन्धमा पूर्वाधार सम्मेलन आयोजना गर्ने भएको छ । पूर्वाधार संरचनाहरूको निर्माण तथा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले भदौ २९ गते काठमाडौंमा सस्टिनेबल इफ्रास्टक्चर इन्भेष्टमेन्ट फोरमको आयोजना गर्ने भएको हो ।
००००
अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा ४६ करोड बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरिएका अमित श्रेष्ठलाई उच्च अदालतले १५ लाख धरौटीमा छाडेको छ ।
जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । तर, उच्च अदालतले भने १५ लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।
००००
देशभर डेंगु रोगको संक्रमण बढ्न थालेपछि सरकारले ‘लामखुट्टेले फुल पार्ने ठाउँहरू खोजौँ र नष्ट गरौँ’ अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले उक्त अभियान सञ्चालन गर्नका लागि सबै स्थानीय तहसँग समन्वयका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रहसमेत गरेको छ । मन्त्रालयले प्रत्येक शनिवार बिहान १० बजे १० मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँहरू खोजेर नष्ट गर्ने अभियान सञ्चालन गर्ने तय गरेको छ ।
००००
नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रमुख प्रशिक्षक पल छाडेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकबाट अलग्गिएको घोषणा गरेका हुन् ।
००००
साताको पहिलो कारोबारको दिन आइतवार नेप्से परिसूचकमा गिरावट आएको छ । आइतवार नेप्से परिसूचक ११.४७ अंक घटेर १९२६.२८ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स यस दिन २.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक घटेको छ ।
००००
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई प्राप्त जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न सैनिक अधिकारीहरूलाई निर्देशन दिएका छन् । आफूले प्रधान सेनापतिका रूपमा कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा आइतवार बिहान विशेष सम्बोधन गर्दै उनले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सुरक्षालगायत अन्य सबै संवैधानिक जिम्मेवारी कुशलापूर्वक निर्वाह गर्न निर्देशन दिएका हुन् ।
००००
असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृ पक्ष आइतबारदेखि शुरू भएको छ । यो बेला यसअघि प्रथम वार्षिक श्राद्ध गरिएका दिवङ्गत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ ।
००००
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् रुपन्देहीका नेता बालकृष्ण चापागाईं नेकपा एमालेमा फर्किएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले चापागाईंलाई आइतवार बिहान टिका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।