
भारतको कांग्रेस पार्टीले सोमवार गरेको एउटा ट्वीट विवादास्पद भएको छ ।
कांग्रेसको आधिकारिक ट्वीटमा एक तस्वीर पोस्ट गरी राष्ट्रिय स्वयंसेवक संघको खाकी वस्त्रमा आगो लगाइएको देखाइएको छ । त्यस वस्त्रबाट धूवाँ निस्किरहेको पनि देखिन्छ ।
भारत जोडो यात्रा चलिरहँदा यो ट्वीट गरिएपछि व्यापक हंगामा भएको छ ।
विवादास्पद तस्वीर पोस्ट गर्दै कांग्रेसले लेख्यो, ‘आरएसएस भाजपाले बनाएको घृणाको माहोलबाट देशलाई मुक्त गर्ने लक्ष्यमा हामी एक एक कदम चालिरहेका छौं ।’
To free the country from shackles of hate and undo the damage done by BJP-RSS.
— Congress (@INCIndia) September 12, 2022
Step by step, we will reach our goal.#BharatJodoYatra 🇮🇳 pic.twitter.com/MuoDZuCHJ2
तस्वीरबाट आक्रोशित भाजपाले भन्यो, ‘यो भारत जोडो यात्रा हैन, भारत तोडो यात्रा र आग लगाओ यात्रा हो । कांग्रेस पार्टीले पहिलोपटक यस्तो काम गरेको हो ।’
भाजपाका प्रवक्ता सम्बित पात्राले भने, ‘म राहुल गान्धीलाई सोध्न चाहन्छु– तपाईं यस देशमा हिंसा चाहनुुहुन्छ ? कांग्रेसले यो तस्वीर तत्काल हटाउनुपर्छ ।’
कांग्रेसको भारत जोडो यात्रा सोमवार केरला पुगेको छ । कुल १५० दिन चल्ने यो यात्राको आरम्भ सेप्टेम्बर ७ मा तमिलनाडुको कन्याकुमारीबाट भएको हो ।