
निर्वाचन आयोगले आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन आचारसंहिताविपरीतका गतिविधि हुन नदिन सुक्ष्म अनुगमनको व्यवस्था गरेको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दल र त्यसका उम्मेदवारहरूलाई निर्वाचन आचारसंहिता र कानूनविपरीतका गतिविधिहरू हुन नदिन आयोगले आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरेको बताए ।
सोमवार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले सो निर्वाचनमा उम्मेदवारहरूले गर्ने खर्चको सीमाबारे आयोगले एक हप्ताभित्र पुनरावलोकन गरी सार्वजनिक गर्ने जानकारी समेत दिए ।
‘निर्वाचनमा दल र उम्मेदवारबाट हुन सक्ने अपारदर्शी, आचारसंहिता र कानूनविपरीतका खर्चहरू छन् । त्यसको नियमन हाम्रो प्रक्रियाबाट गर्छौं त भनिहाले मैले । सुक्ष्म अनुगमन गर्छौं भनेका छौँ’, उनले भने, ‘केही विवरणहरू हामीले लिएकै छौँ । तै पनि दलहरू र उम्मेदवारहरूले नै स्पष्ट भइदिए हामीलाई अनुमगन गर्ने झन्झट नै हुँदैन थियो ।’
आयोगले यही भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने जानकारी दिएको छ । प्रमुख आयुक्त थपलियाले आगामी निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अध्यावधिक गर्ने काम अन्तिम चरणमा पु¥याएको र त्यसलाई यही ३१ गते सार्वजनिक गर्ने योजना रहेको जानकारी दिए । उनले यसअघिको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनभन्दा कम खर्च हुने गरी आगामी मंसिर ४ गतेको निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताए ।