२१ जेठ २०८३, बिहीबार

खानेपानी ट्यांकी छेउछाउ डोजर प्रयोग नगर्न केयुकेएलको आग्रह

खानेपानी ट्यांकी छेउछाउ डोजर प्रयोग नगर्न केयुकेएलको आग्रह

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले खानेपानीको ट्यांकी रहेकाे क्षेत्रमा डोजर प्रयोग नगर्न आग्रह गरेको छ । आरुबारीस्थित खानेपानी ट्यांकी रहेकाे सीमाको जग्गाधनीले डोजर प्रयोग गर्दा क्षति पुगेको भन्दै उक्त कार्य रोक्न आग्रह गरेको हो । 

केयूएलले मंगलवार विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्मित र निर्माणाधीन खानेपानी ट्यांकी परिसरका सीमा क्षेत्रका जग्गामा डोजर लगाउँदा ट्यांकीमा क्षति पुग्नेतर्फ सचेत गराइएको छ । ट्यांकीमा क्षति पुगेको अवस्थामा खानेपानी वितरण अवरुद्ध हुने भन्दै केयूकेएलले सम्बन्धित सबैमा त्यसो नगर्न आग्रह गरेको हो । 

आरुबारीमा रहेको ८५ लाख लिटर क्षमताको खानेपानी ट्यांकी रहेको क्षेत्रको सीमामा पर्ने जग्गामा जग्गाधनीले डोजर लगाई करिव ४ मिटर गहिराइमा खन्दा ट्यांकीको सुरक्षाका लागि निर्माण गरिएको आरसीसी पर्खाल भत्किन गई  क्षति पुग्ने अवस्था सिर्जना भएको छ । 

केयूकेएलले आग्रहविपरीत डोजर लगाई खानेपानीका संरचनामा क्षति पुर्‍याउनेहरूले नै क्षतिको जिम्मेवारी लिनुपर्ने र क्षतिपूर्ति तिर्नुपर्ने पनि स्पष्ट पारेको छ । 

केयूकेएलले पछिल्लो समय विभिन्न स्थानमा थप पाँचवटा खानेपानी ट्यांकीको निर्माण गरिरहेको छ । तीनचुली महाङ्कालमा ८० लाख लिटर, न्यू महांकालमा १३ लाख, कीर्तिपुरमा ६० लाख, गोल्फुटारमा २ लाख १० हजार र बाँसबारी हेपाली हाइटमा १५ हजार लिटर क्षमताको खानेपानी ट्याङ्कीहरू निर्माण भइरहेको केयूकेएलले जनाएको छ । 

यसअघि, काठमाडौंका जगडोल आरुबारी, हेपाली हाइट, पानीपोखरी, बालाजु, टिगनी तथा न्यू महाङ्काल र भक्तपुरको कटुञ्जेमा खानेपानी ट्यांकीहरू निर्माण सम्पन्न भई सञ्चालनमा रहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्