
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम मंगलवारदेखि शुरू भएको छ ।
बुटवल–१७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट नापजाँचको काम शुरू भएको हो ।
नापजाँच कार्यक्रमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले ड्रोन उडाएर शुभारम्भ गरे । जग्गा नापजाँचको शुभारम्भ गर्दै प्रमुख पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्रको वास्तविक जग्गा छुट्टिने र औद्योगिक क्षेत्र निर्माणका लागि सहज हुने बताए ।
औद्योगिक क्षेत्र बनाउन योग्य जग्गा र अन्य जग्गा छुट्याएर औद्योगिक क्षेत्रका लागि सिफारिस गर्ने र सोही क्षेत्रमा औद्योगिक क्षेत्र बन्ने उनले बताए । ‘यसअघि मोतीपुर औद्योगिक क्षेत्रको नाममा जग्गा ल्याउँदा अनुमानका आधारमा ल्याइएको रहेछ,’ उनले भने, ‘अब ड्रोनबाट गरिने नापजाँचपछि यो क्षेत्रमा कति जग्गा छ र कति जग्गामा औद्योगिक क्षेत्र निर्माण गर्न सकिन्छ भन्ने कुरा यकिन हुनेछ, त्यसपछि औद्योगिक क्षेत्रको जग्गा पर्ने बुटवल सहितका पालिकाहरूले कार्यपालिका बैठकबाट निर्णय गरेर संघीय सरकारलाई पठाइनेछन् ।’
कार्यदलका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले औद्योगिक क्षेत्र रुपन्देहीकै लागि महत्त्वपूर्ण भएकाले सबैलाई साथ दिन आग्रह गरे । उनले राजनीतिक दल, स्थानीयलाई साथमै लिएर अघि बढ्नुपर्ने बताए ।
उनका अनुसार गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा बनेको कार्यदलले ड्रोनबाट जग्गा नापजाँच गरिसकेर प्रतिवेदन तयार गर्ने र सोहीअनुसार प्राप्त विवरणका आधारमा औद्योगिक क्षेत्रको जग्गाको क्षेत्रफल घटाउन सकिने वा नसकिनेबारे प्रतिवेदन तयार गरी पेश गर्नेछ ।