
महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशीको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ । मंगलवार गैर–आवासीय नेपाली संघ र बीबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरी केन्द्रलाई पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा पुरस्कार ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले आविष्कार केन्द्रलाई माथिल्लोस्तरमा पु¥याउन आवश्यक रहेको बताए । उनले एउटा मात्रै आविष्कार केन्द्रहरू नभई धेरैभन्दा धेरै आविष्कार केन्द्र खोल्नुपर्ने बताए । आविष्कार केन्द्रहरू खोलेर देशको अर्थतन्त्र सुधार्न सके देशलाई कसैले पनि हेप्न नसक्ने उनको भनाइ थियो ।
देशमा नयाँ प्रविधिको विकास भएको खण्डमा नेपालीहरू रोजगारीको लागि बाध्य भएर विदेश जानु नपर्ने पुनले बताए । उनले आविष्कार केन्द्रहरूलाई उच्च प्राथमिकता नदिने हो भने देशको उन्नति कहिल्यै नहुने दाबी गरे ।
अध्यक्ष पुनले हाईवे, एयरपोर्ट र विश्वविद्यालय मात्रै खोलेर देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताए । उनले अर्थतन्त्र बिग्रिएको खण्डमा सबै क्षेत्रमा तहसनहसको अवस्था बन्ने बताए ।
कार्यक्रममा ओसो तपोवन नेपालका संस्थापक स्वामी आनन्द अरुणले नेपाल प्रत्येक वर्ष गरिब बन्दै गएको बताए । उनले दक्षिण एशियामा विकासको ठूलो नारा दिए पनि सबैभन्दा गरिब मुलुकमा स्थपित रहेको दाबी गरे । उनले विकासप्रति चिन्तनशील हुन जरुरी रहेको बताए ।
बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १०औँ सम्मेलनका अवसरमा उक्त पुरस्कार घोषणा गरेका थिए । ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गरिने बताइएको छ ।