
धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच दोहोरो गोली हानाहान भएको छ । गणेशमान चारनाथ नगरपालिका–४ पोर्ताहास्थित चारनाथ खोलामा सोमवार राति बन्दुकधारी समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको हो ।
राति ११ः४० बजेको समयमा पोर्ताहा प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक रामनाथ यादव नेतृत्वको गस्ती टोलीले बन्दुकधारी समूहलाई रोक्न खोज्दा दोहोरो गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीप क्षेत्रीले लोकान्तरलाई जानकारी दिए ।
प्रहरीको जवाफी कारवाहीमा बन्दुकधारी समूहका एक जनालाई बायाँ खुट्टामा गोली लागि घाइते अवस्थामा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका–५ बस्ने ३० वर्षीय गणेशबहादुर बुढाथोकी रहेको डीएसपी क्षेत्रीले बताए ।
उनीहरू बालुवा गिटी तस्करीमा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । पाँच जनाको समूहका रहेको उनीहरूमध्ये ४ जना फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।