
राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपूर्जा वितरणको काम तीब्र पारेको जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले मंगलवार सप्तरी जिल्लाको अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा ८५ भूमिहीन सुकुम्वासी परिवारलाई लालपूर्जा वितरण गरिन् ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीले अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको वडा नम्बर ४ मा आयोजना गरेको भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले लालपूर्जा वितरण गर्दै भूमिहीन सुकुम्वासी र भूमिहीन दलितको समस्या समाधानको कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताइन् ।
उनले नीति तथा कार्यक्रम र बजेटमा समेत आगामी २ वर्ष भित्र भूमिसँग जोडिएका सवै खालका समस्या समाधान गरिसक्ने भनिएकाले यही आर्थिक वर्षभित्र ३०० पालिकाकाका पाँचलाख भूमिहिनलाई लालपूर्जा वितरण गरिसक्ने गरी अगाडी बढेको बताइन् ।