१२ असार २०८३, शुक्रबार

व्यवसायीले सिर्जना गरेको कृत्रिम अभावः दैनिक कति ठगिनुहुन्छ तपाईं ?

कात्तिक २०, २०७४
व्यवसायीले सिर्जना गरेको कृत्रिम अभावः दैनिक कति ठगिनुहुन्छ तपाईं ?

काठमाडौं, १८ साउन– खुद्रा पैसाको कृत्रिम अभावका कारण उपभोक्ताहरु खुलेआम ठगीमा पर्ने गरेका छन् ।

उपभोक्ताहरु खुद्रा पसलदेखि दैनिक चढ्नुपर्ने सार्वजनिक यातायातमा खुद्रा पैसा अभावको नाममा तोकिएभन्दा बढी तिर्न बाध्य छन् । किराना पसलदेखि नै शुरु हुने राजधानीबासी बिहान पसलमा दुध किन्न जाँदादेखि नै तोकिएको भन्दा बढी तिर्न बाध्य हुने गरेको गुनासो गर्छन् ।

कुनै पनि किराना पसल जाँदा उपभोक्ताले ५ रुपैंया भन्दा कम पैसाको जोहो गर्न नसके इच्छाविपरित कुनै वस्तुको उपभोग गर्नुपर्ने हुन्छ ।

राजधानीको व्यस्त बजार बागबजारमा बस्ने पुर्वी नेपाल धरान घर भएकी पवित्रा आचार्यले प्रत्येक बिहान ३२ रुपैंया पर्ने दुधको प्याकेटमा ३५ रुपैंयाँ दिँदा ३ रुपैंया फिर्ता पाउनु सट्टा पसलेले पैसा खुद्रा हुँदा जिद्दी गरेरै चकलेट लिन लाउने गरेको बताइन् । यस्तै अर्की उपभोक्ता पुतलीसडक अस्थायी बसोबास भएकी रञ्जु न्यौपानेले भनिन्, ‘प्रत्येक दिन ४ रुपैंया भन्दा कम पैसा पसलेले फिर्ता दिनै मान्दैन, त्यो विषयमा बाँझ्न पनि गाह्रो हुन्छ, यो सरकारले नै मिलाउनुपर्ने हुन्छ ।’

तर, खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य भने यो व्यवसायीको पनि गम्भीर समस्या भएको बताउँछन् । व्यवसायीहरुको ठग्ने नियत नभएको खुद्रा पैसा लिँदा ठूलो झन्झट ब्योहोर्नु हुँदा यो समस्या आएको उनले बताए । उनले लोकान्तरसँग भने, ‘बैंकहरुले पैसा साट्न लामो प्रक्रिया पुरा गर्न भन्छ, लामो लाइन बस्नुपर्छ, एउटा सामान्य व्यवसायीले व्यवसाय बन्दै गरेर कसरी घण्टौं लाईन बस्न सक्छ ?, उपभोक्ताले पैसा फिर्ता नदिएर झगडा गर्छ, व्यवसायीसँग खुद्रा पैसा हुँदैन, यो समस्या कसले बुझ्ने ?’ उनले यो समस्या समाधानका लागि राष्ट्र बैंकसँग विभिन्न किसिमका छलफल गरिसकेको र आगामी दिनमा पनि छलफल गरी समाधानका लागि लाग्ने बताए ।

उपभोक्ताहरु सार्वजनिक यातायातमा पनि दिनहुँ कयौं रुपैंया छोड्न बाध्य छन् । खासगरी उपत्यकाका विभिन्न रुटमा चल्ने सार्वजनिक यायातामा सरकारले न्युनतम १३ रुपैंया भाडा निर्धारण गरेको छ । तर उपभोक्ताहरुले १५ रुपैंया तिर्ने गरेका छन् । कतिपय उपोक्ताले ३ रुपैंया फिर्ताको माग गर्दा गाडीले खुद्रा पैसा बोक्नुपर्ने भनेर जवाफ दिने गरेको गुनासा कयौं छन् ।

कतिपय सचेत उपभोक्ताले पैसा फिर्ता माग्दा झगडाकै स्थिति देखा पर्ने परेका छन् । तर, यो विषयमा राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष डोलनाथ खनाल भने समझदारी हुने विषयलाई ठगी भन्न नमिल्ने बताउँदै यसमा उपभोक्ताहरु नै सचेत हुन आवश्यक रहेकोमा जोड दिन्छन् ।

लोकान्तरसँगको कुराकानीमा उनी भन्छन्, ‘व्यवसायी र उपभोक्ताले खुशीका साथ ३ रुपैंया छोडिदिने हुँदा यो ठूलो विषय हैन तर, पैसा फिर्ता लिन चाहे उपभोक्ता लिन पाउँछ र व्यवसायीले पनि दिनैपर्छ ।’

यता उपभोक्ताको पक्षमा वकालत गर्दै आएका विभिन्न संघसंस्थाहरु पनि राजधानीका उपभोक्ता मासिक लाखौं ठगीमा पर्ने गरेका बताउँछन् ।

खुद्रा सामान, यातायात तथा अन्य दैनिक वस्तु तथा सेवा उपभोग गर्दा सरकारी तथा गैरसरकारी निकायबाट राजधानी उपत्यकामा मात्रै खुलेआम लाखौं ठगी हुने गरेको उपभोक्ता अधिकार अनुसन्धान मंञ्चका अध्यक्ष माधव तिमिल्सेना बताउँछन् ।

यद्यपि यो विषयमा अहिलेसम्म के कति ठगी हुन्छ भन्ने कुनै अध्ययन भएको छैन । उनका अनुसार सामान्यतया उपभोक्ताले आफू ठगिएको थाहा पाउँदा सरकारी निकायमा उजुरी गर्नुपर्ने भए पनि उपभोक्तालाई सचेत बनाउन सरकारले नै पहल चाल्नुपर्ने हुन्छ ।

उता, नेपाल राष्ट्र बैंकले भने खुद्रा पैसा प्रयाप्त भए पनि माग नै नभएको बताउँछ । राष्ट्र बैंककाअनुसार बैंकहरुले प्रक्रिया पुर्याएर काम गर्नुपर्ने हुँदा व्यवसायीले झन्झट नमानी काम गर्नुपर्ने हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्