०३ असार २०८३, बुधबार

घाँसे मैदानको फाँटमा मृगको बथान [फोटोकथा]

भदौ २९, २०७९
घाँसे मैदानको फाँटमा मृगको बथान [फोटोकथा]

प्राकृतिक विविधताले भरिपूर्ण बर्दिया राष्ट्रिय निकुञ्ज । उत्तरमा चुरे पहाड, दक्षिणमा तराईको समथर फाँट । निकुञ्जलाई मध्यभागमा पारेर पूर्वमा बबई नदीे अनि पश्चिममा कर्णाली बगेको छ । बीचमा जैविक विविधताले भरिपूर्ण प्रकृतिको वरदान बर्दिया राष्ट्रिय निकुञ्जको हरियाली छ ।

हरियाली फाँटमा चरेका मृग, मृगका क्रियाकलाप अझ तिनीहरूका आकर्षक आँखाले घुम्न आउने प्रत्येक पर्यटकलाई आकर्षित गर्छ । त्यति मात्र होइन, अनेकौं भौगोलिक विविधताको अनुपम समिश्रणबीच पश्चिम नेपालकै सुन्दर पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जले सबैको मन लोभ्याउने गर्छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज खासगरी बाघका लागि परिचित छ । नेपालले बाघ संरक्षणको अभियानलाई तीव्रता दिएसँगै बाघको संख्या उल्लेख्य बढेको छ । त्यसमा बर्दिया राष्ट्रिय निकुञ्जको पनि ठूलो योगदान छ । यस निकुञ्जमा पनि बाघको संख्यामा वृद्धि भएको छ ।

तर आजको फोटो कथामा बर्दियाको बाघभन्दा बाघको वृद्धि हुनमा सघाउ पु¥याउने र वन्यजन्तुको पारिस्थितिकीय प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्ने मृगको फोटोकथा प्रस्तुत गर्दैछु ।

प्रायः मानिसहरू बर्दिया राष्ट्रिय निकुञ्जमा प्राकृतिक आनन्दका लागि पुग्ने गर्छन्, जहाँ वन्यजन्तु, चराचुरुंगी, हरिया फाँट र खोला नालामा रमाउने उत्कट इच्छा बोकेर पुग्ने गर्दछन् । यी प्राकृतिक सुन्दरतामा रमाउनेबाहेक त्यहाँ पुग्ने सबैको एउटै चाहना हुन्छ बाघ हेर्ने । समय र मौसमले साथ दिएको खण्डामा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ देखिन्छ ।

मेरो बर्दिया निकुञ्जको भ्रमण यसपटक वर्षाको समय साउन महिनामा भएको थियो । वर्षाको समयमा वन जंगलमा घाँस र झाडी निकै बढिसकेको थियो, वर्षामा यो स्वाभाविक पनि हो । झाडीका कारणले गर्दा यस समयमा बाघ देख्न मुस्किल पर्ने रहेछ, त्यसैले लामो बसाइमा पनि बाघको दर्शन पाउन सकिएन ।

बाघ नदेखिए पनि मलाई प्रत्येक दिन निकुञ्ज घुम्दा देखिने मृगका हुल र ती मृगका चनाखो आकर्षक आँखाले लोभ्याउँथ्यो । बच्चासहित चरनमा चरेको मृगले प्राकृतिक आनन्दको अनुभूतिमा अझ उत्साही बनेर नजिक जाउँजाउँ जस्तै लाग्ने । निकुञ्जमा प्रशस्त मात्रामा देखिने मृगले पर्यटकलाई सबैभन्दा पहिले स्वागत गर्छ । धेरै र नजिकबाट देखिने मृगहरू नै हुन् तर जंगलको शेर बाघको दर्शनका लागि यहाँ आउने हरेक पर्यटक लालायित हुन्छन् । जति नै लालायित भए पनि हत्तपत्त बाघको दर्शन पाउन सकिँदैन । यसको मतलब फेरि बर्दियामा बाघ देख्नै सकिँदैन भन्ने चाहिँ होइन । मृगजस्तै सजिलै देख्न सकिँदैन भन्न खोजेकी मात्र हुँ ।

त्यसैले मेरो भाग्यमा यसपटक बाघ हेर्न जुरेन, मृगकै फोटो खिचेर चित्त बुझाउँदै फेरि कुनै समय बर्दिया राष्ट्रिय निकुञ्ज जाने मौका जुराएर बाघको फोटो खिच्ने उत्कट चाहना पूरा भएपछि बाघको फोटो कथा लिएर आउने छु ।

त्यसो त बर्दिया निकुञ्जमा पाटेबाघ, एकसिङ्गे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना र जंगली हात्ती लगायत विभिन्न प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोस र विभिन्न किसिमका माछा पाइन्छन् ।

यसपटक मेरो क्यामेराले कैद गरेका फोटोकथामा मृगको बथान । 

(अनन्ता भण्डारी विगत १० वर्षदेखि आमसञ्चारमाध्यममा संलग्न रहँदै आएकी छन् । विशेषगरी पर्यापर्यटन, वातावरण, निकुञ्ज क्षेत्र लगायतको वृत्तचित्र निर्माण, निर्देशन र छायांकन गर्नुका साथै फोटो पत्रकारिता गर्दै आएकी छन् ।) 

salt training

कमेन्ट गर्नुहोस्