
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसदीय समितिमा लगाएका आरोपको प्रमाण पेश गर्न पूर्वन्यायाधीश फोरमले चुनौती दिएको छ ।
पूर्व न्यायाधीश फोरम नेपालका अध्यक्ष टोपबहादुर सिंहले बुधबार विज्ञप्ती जारी गर्दै जबरालाई आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।
‘पूर्व न्यायाधीश फोरमसँग आवद्ध पूर्व प्रधान न्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधानन्यायाधीशसँग कुनै पनि कुराको भागबण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टी गर्न चुनौती छ’, सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘न्यायालयको शुद्धीकरणका लागि आफ्नो अनुभव, ज्ञान र दक्षताको योगदान पुर्याउने उद्देश्यले कानून बमोजिम दर्ता भई कार्यरत रहेको पूर्व न्यायाधीश फोरम एवं सो संस्थामा आवद्ध रहेका समस्त पूर्व न्यायाधीशहरूको मर्यादामा भ्रम फैलिने गरी व्यक्त गरिएको निलम्बित प्रधानन्यायाधीशको बयानप्रति यस पूर्व न्यायाधीश फोरमले खेद प्रकट गर्दछ,’ विज्ञप्तीमा उल्लेख छ ।
महाभियोगका सम्बन्धमा हतारमा निर्णय नगरी गहन र विस्तृत अध्ययन तथा अनुसन्धान गर्न सिंहले संसदसमक्ष माग गरेका छन् ।
निलम्बित प्रधानन्यायाधीश जबरामाथि गम्भीर आरोप लागेको र ती आरोपका सम्बन्धमा गम्भीरतापूर्वक नै अनुसन्धान तथा छानबिन गर्नुपर्ने भन्दै उनले संसदको कार्यकाल सकिन लाग्यो भन्दैमा यस्तो विषयमा हतार गर्न नहुने बताए ।
आगामी निर्वाचनपछि बन्ने संसदले चोलेन्द्र शम्शेर जबराविरूद्धको महाभियोग टुंगो लगाउनुपर्ने उनले बताए ।
पढ्नुहाेस् विज्ञप्ति
