
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पटक पटक अवसर पाइसकेका नेताहरुलाई समानुपातिक उम्मेदवार नबनाउनेबारे छलफल थालेको छ । बुधबार पार्टी कार्यालयमा बसेको संसदीय बोर्डको बैठकमा विगतमा पटक पटक अवसर पाइसकेका नेताहरुलाई समानुपातिक उम्मेदवार नबनाउने विषयमा छलफल भएको एक नेताले बताए । ती नेताकाअनुसार छलफल सकारात्मक भएकाले सोही अनुसार निर्णय हुने सम्भावना देखिएको छ ।
उनले भने, ‘विगतमा अवसर पाएकाहरुलाई समानुपातिकका नदोहोर्याउने गरी छलफल भएको छ । अब यहीअनुसार निर्णय हुने सम्भावना देखिन्छ ।’ स्थानीय तहमा आएको मतपरिणामको ग्राफ हेरेर सोही क्षेत्रलाई प्राथमिकता दिएर समानुपातिक उम्मेदवार चयन गर्नेगरी छलफल भएको पनि उनको भनाइ छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार बोर्ड गठन गरेका थिए ।