
निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु स्थगित गर्न निर्देशन दिएको छ । यस्तै नेपाल सरकार, प्रदेश सरकार, तथा स्थानीय तहलाई वैदेशिक भ्रमण नगर्न नगराउन पनि आयोगको निर्देशन दिएको छ ।
आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कार्यक्रमहरू सार्वजनिक भइसकेको सन्दर्भमा यस्तो निर्देशन दिइएको उल्लेख छ । आयोगले निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरण सम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गरी सोको यथार्थ जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन राष्ट्रिय भूमि आयोग, ताहाचल, काठमाडौंलाई निर्देशन दिएको छ ।
त्यसैगरी सम्बन्धित आयोजक तथा प्रायोजकबाट सम्पूर्ण खर्चहरू बेहोर्ने गरी स्वीकृत गरिने वैदेशिक भ्रमण बाहेक अन्य भ्रमण नगर्न पनि आयोगले निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।