२२ असार २०८३, सोमबार

माथिल्लो अरुणमा जुट्यो ५३ अर्ब लगानी

माथिल्लो अरुणमा जुट्यो ५३ अर्ब लगानी

माथिल्लो अरुण जलविद्युत् आयोजनामा नेपालका बैंक तथा वित्तीय संस्थाले रु ५३ अर्ब ३४ करोड बराबर लगानी गर्ने भएका छन् । सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा राखेको सो परियोजनाको कूल लागत रु दुई खर्ब १४ अर्ब ८६ करोड बराबर रहेको छ । आन्तरिक ऋण लगानीसम्बन्धी सम्झौतामा आज साँझ हस्ताक्षर भएको छ । 

लगानीसम्बन्धी सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सहवित्तीयकरणका अगुवाइ गर्ने एचआइडिसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम तथा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नागरिक लगानी कोषका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् । 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र मन्त्रालयका उच्च अधिकारीको उपस्थितिमा भएको उक्त समझदारीअनुसार ऋण लगानीसम्बन्धी आवश्यक निर्णय हुनेछ । 

कूल एक हजार ६१ मेगावाट क्षमताको सो आयोजनामा कूल लागतको ७० प्रतिशत ऋण लगानी हुनेछ भने ३० प्रतिशत स्वपूँजी रहनेछ । आयोजनामा कूल ऋण रु एक खर्ब ५० अर्ब ४० करोड बराबर रहनेछ । त्यसमा वैदेशिक ऋण रु ९७ अर्ब छ करोड बराबर रहनेछ । विश्व बैंक, युरोपियन इन्भेस्टमेन्ट बैंकलगायतका वैदेशिक ऋण लिने तयारी गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्