
प्रहरी भन्दै रु ३० लाख २३ हजार लुटपाट गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भोजपुर घर भई भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुली मरिन गाउँपालिका–३ घर भइ काठमाडौँ कपन बस्ने ३० वर्षीय देव लामा र रामेछाप सुनापाती गाउँपालिका–१ घर भई काठमाडौँ कपन बस्ने २० वर्षीय मीनबहादुर तितुङ रहेका छन् ।
यही २२ गते काठमाडौँ ठमेलस्थित ओरियन्टल मनी एक्सचेञ्ज बन्द गरी कोठा जाने क्रममा म्हैपी पानी ट्याङ्की नजिक तीन वटा मोटरसाइकलमा आएका पाँच जना अपरिचित व्यक्तिले प्रहरी भन्दै पीडितलाई जबर्जस्ती मोटरसाइकलमा राखी डल्लु पु¥याएर लुटपाट गरेका प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई घटनामा प्रयोग भएको मोटरसाइकलसहित बुधबार काठमाडौँ कपनबाट पक्राउ गरको हो ।
घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्नुका साथै पक्राउ परेका उनीहरूलाई अपहरण तथा डाँका, चोरी कसुर मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।