
प्रतिनिधि सभाको महाभियोग सिफारिश समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दिएको १ सय ७४ पेज लामो बयान पढेर सुनाउने क्रम जारी छ ।
दिउँसो १ बजेर १० मिनेटदेखि बयान पढ्ने काम शुरू भएकोमा दिउँसो साढे ३ बजेसम्म ५० पेज पढेर सकिएको छ । जबराले प्रत्येक पेज पढेर सकिएपछि जबराले त्यसमा हस्ताक्षर गर्दै गएका छन् ।
शुरू गरेको सवा २ घन्टामा ५० पेजमात्रै पढिएको छ भने १२४ पेज पढ्न बाँकी छ ।
समितिले तयार गरेको बयानको प्रतिमा शुरुमा चोलेन्द्रले हस्ताक्षर गर्न अस्वीकार गरेपछि अहिले प्रत्येक पेज पढेर सुनाइएको हो ।
समिति बैठकमा चोलेन्द्रले आफूले बोलेको भिडियो र अडियो आफ्नै हो भनेर हस्ताक्षर गर्ने तर प्रत्येक पेजमा नगर्ने अडान लिएका थिए । तर समितिको प्रतिवेदनमा बनायमा हस्ताक्षर गर्नैपर्ने समितिको अडानपछि हस्ताक्षर गर्न चोलेन्द्र राजी भएका हुन् ।
समितिले तयार गरेका ४३ प्रश्नको जवाफ समेटेर समितिले चोलेन्द्रको बयान १७४ पेजमा उतारेको छ ।
हस्ताक्षर आज साँझ ५ बजेसम्म गरिने बताइएको छ । बाँकी बसेको प्रतिवेदन पढ्ने र हस्ताक्षर गर्ने काम भोलि सम्पन्न गरिने तयारी छ ।
हस्ताक्षर सम्पन्न गरेपछि पुरक प्रश्न सोध्ने तयारी छ ।