१६ असार २०८३, मंगलबार

यसवर्ष काठमाडौंबाट बढी यात्रु बाहिरिने

यसवर्ष काठमाडौंबाट बढी यात्रु बाहिरिने

दशैं, तिहार, छठलगायतका चाडपर्वका लागि काठमाडौं उपत्यकाबाट गत वर्षभन्दा बढी यात्रु बाहिरिने भएका छन् । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी खुलाइएको अग्रिम टिकट बिक्रीका आधारमा पनि यस वर्ष बढी बाहिरिने जनाइएको छ । 

गत वर्षमा झण्डै १० लाख हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिएकोमा यस वर्ष त्योभन्दा दोब्बर संख्यामा बाहिरिने अनुमान राष्ट्रिय यातायात व्यवसायी महासंघ नेपालका उपाध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए । अहिले चहलपहल बढेको छ र घटस्थापनापछि अझै पनि बढ्नसक्छ । उनले भने, ‘चुनावी चहलपहल र कोरोना कम भएकाले यस वर्ष बढ्नसक्छ ।’ 

सरकारले १० गतेबाट २५ ठाउँमा यात्रु सहायता कक्षको व्यवस्था गर्न लागिएको छ । तोकिएको भन्दा फरक भाडा लिँदा वा कुनै पनि किसिमको दुव्र्यवहार हुँदा सम्पर्कमा राख्न उपाध्यक्ष सुवेदीले यात्रुलाई अनुरोध गरे । ठाउँ–ठाउँमा कुनै पनि समस्या हुँदा सम्पर्क गर्नका लागि प्रहरी र महासंघको नम्बर टाँस्ने उनको योजनामा छ । उनले भने, ‘अघिल्ला वर्षमा कोभिडका कारण उत्साहपूर्ण नभएकाले यो वर्ष केही उत्साह थपिने अनुमान छ ।’

चितवनसम्म सडकको अवस्था राम्रो भए पनि बुटवाल–नारायणगढ सडक नाजुक भएकाले आवतजावत गर्न अप्ठ्यारो भएको जनाइएको छ । अहिले नारायणगढबाट बुटवलसम्म पुग्नका लागि नै पाँच घण्टा लाग्ने अवस्था छ । 

उपत्यकाबाट बाहिर र बाहिरका जिल्लाबाट उपत्यका प्रवेश गर्ने यात्रुका लागि सरकारले गत शनिवारबाट अग्रिम टिकट खुलाइएको छ । यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि सार्वजनिक यातायात सेवा प्रदायकले मध्यम तथा लामो दूरीमा अग्रिम टिकट खुलाएको हो । 

विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी सम्मिलित भदौ २२ गतेको बैठकले सो निर्णय गरेको थियो । यात्रुको सहजतालाई ध्यान दिएर अनलाइन बुकिङको व्यवस्था मिलाउने र यात्रुलाई छुट र सहुलियत प्रदान गर्ने निर्णय भएको थियो । 

कोभिड–१९ माहामारीलाई मध्यनजर गर्दै मास्कको प्रयोग अनिवार्य गरिएको विभागले जनाएको छ । उपत्यका भित्रने र बाहिरिने सवारीसाधनको विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी, मजदूरसँग सहकार्य गरेर प्रभावकारी अनुगमनको व्यवस्था गर्ने बताइएको छ । 

सुरक्षित रुपमा यात्रु घर जानसक्ने वातावरण बनाउन यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरीलगायत सबै लाग्न जरुरी रहेको वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । उनले सबै क्षेत्रले यात्रुबाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालबाहक सवारीसाधनलाई दिनुपर्ने बताए । 

अहिले अति आवश्यक पर्ने सामान ल्याउने बाहेक अठार र बीस चक्के सवारीसाधन चल्नुहुँदैन । यातायात व्यवस्था विभागले १५ गतेबाट यी मालबाहक सवारीसाधन रोक्ने निर्णय गरेको छ । 

विभागले यात्रुको जानकारी लागि ठाउँठाउँमा भाडाको दर राख्नुपर्ने विभागले जनाएको छ । सामान्य, डिलक्स, सुपर डिलक्स र एसी गाडी चार थरीका गाडीमा तोकिएको भाडा लिन जनाइएको छ । यात्रुले तोकिएको ठाउँमा नै गएर टिकट काट्दा मात्रै ठगिनबाट बच्न सक्नेछन् । विभागले १४ ठाउँमा नागरिक सहायता कक्षको व्यवस्था गर्ने भएको छ । त्योसँगै सडक राम्रो बनाउन समन्वय गर्ने, ट्राफिक व्यवस्थापन विभागको काम हो । यातायात व्यवसायीले भएका सवारीसाधनमार्फत यात्रुलाई गन्तब्यसम्म पुर्‍याउने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । 

यसवर्ष नयाँ सवारीसाधन नआएकाले हाल भएकालाई व्यवस्थापन गर्ने महासंघले जनाएको छ । शनिवारदेखि नै टिकट लिन थाले पनि असोज १० गतेबाट धेरै यात्रु जानेछन् । हाल भएका यात्रुमध्ये कोही अहिलेबाट नै जान थाल्छन् भने कोही घटस्थापनादेखि जाने र सबैभन्दा बढी चाप फूलपातीपछि हुने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्