
बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेमगीत ३’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । हिन्दी भाषामा समेत डब भएको चलचित्र शुक्रवारबाटै नेपाल, भारतलगायत विश्वभरका चलचित्र हलमा प्रदर्शनमा आएको हो ।
चलचित्रको बिहीवार भारतको मुम्बईमा प्रिमियर शो आयोजना गरिएको थियो । जसका लागि चलचित्रका निर्माता एवं निर्देशक सन्तोष सेन, अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिष्टिना गुरुङ केही दिनअघि नै मुम्बई पुगेका थिए ।
प्रिमियरमा नेपाली चलचित्र क्षेत्रकी एकसमयकी लोकप्रिय अभिनेत्री निरुता सिंहसमेत पुगेकी थिइन् । उनी पछिल्लो वर्ष मुम्बईमै बस्दै आएकी छन् । प्रिमियरमा चलचित्र हेरेर निस्किएपछि उनले आफूलाई एकदमै ‘प्राउड फिल’ (गौरवको अनुभूति) भएको बताएकी छन् । ‘हाम्रो नेपाली चलचित्र भारतमा समेत ठूलो स्केलमा प्रदर्शनमा आयो । त्यो नै हामी सबै नेपालीका लागि सबैभन्दा प्राउडको कुरा हो’ उनले भनिन् ।
निरुताले केही साताअघि मुम्बईको हलमा हिन्दी चलचित्र हेर्ने क्रममा ‘प्रेम गीत ३’को टे«लर प्रदर्शन हुँदा आँखाबाट खुशीको आँशु नै आएको समेत स्मरण गरिन् । ‘म साथीहरूसँग हिन्दी चलचित्र हेर्न गएकी थिएँ । त्यतिबेला यहाँ जब प्रेम गीत ३ को ट्रेलर आयो, म एकदमै खुशी भएँ’, निरुताले भनिन्, ‘खुशीले आँखामा आँशु नै आयो ।’
उनले चलचित्र कस्तो बन्यो ? कसरी चल्छ त्यो सेकेण्डरी कुरा भएको बताउँदै भारतसम्म आउनु नै सबै नेपालीको लागि खुशीको कुरा भएको बताइन् ।
निरुताले नेपाल कति सुन्दर छ भन्ने कुरा चलचित्रले देखाएको समेत बताइन् । ‘कति सुन्दर छ हाम्रो नेपाल भन्ने चलचित्रले देखाएको छ । वाह ! हाम्रो नेपाल भन्ने महसुस भयो’, उनले बताइन् । चलचित्र मेकिङ राम्रो बनेको निरुताले बताइन् । अभिनेता प्रदीप खड्का, नव–अभिनेत्री क्रिष्टिना गुरुङको अभिनय एकदमै राम्रो रहेको निरुताले बताइन् । उनले निर्माता एवं निर्देशक सन्तोष सेन धन्यवादको पात्र भएको बताइन् ।