
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेकपा एमालेबीच गठबन्धनका लागि दुई साताअघि प्रयास भएपनि त्यसमा खासै प्रगति हुन सकेको छैन ।
गठबन्धनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच पटक–पटक भेटवार्ता समेत भइसकेको छ तर कुनै ठोस नतिजा आउन सकेको छैन ।
लोसपा नेताहरू तालमेलबारे आशावादी रहे पनि एमाले नेताहरू खासै सकारात्मक कुरा गर्दैनन् ।
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले एमालेसँग सम्वाद जारी नै रहेको बताए । ‘एमालेसँगको गठबन्धनका विषयमा दुईतीन दिनपछि मात्र केही भन्न सकिन्छ,’ महतोले लोकान्तरसँग भने ।
लोसपा मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल पनि एमालेसँग नै गठबन्धन हुने बताउँछन् ।
लोसपाका अर्का नेता तथा केशव झाले पनि एमालेसँगको सकारात्मक रूपमै अगाडी बढेको जानकारी दिए । ‘हाम्रो अध्यक्ष महन्थ ठाकुरजी र एमाले अध्यक्ष ओलीजीबीच सम्वाद जारी नै छ । अर्कातर्फ दुवै पार्टीबीचको कार्यदलबीच पनि कुराकानी भइरहेको थियाे,’ उनले भने ।
गठबन्धनका लागि एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल तथा लोसपाका तर्फबाट सर्वेन्द्रनाथ शुक्लसहितको दुई सदस्यीय कार्यदल गठन गरिएकाे थियाे ।
‘कार्यदलबीच पनि एक दुईपटक औपचारिक रूपमा कुराकानी भइसकेको छ । बीचमा शुक्लजी बिरामी भएका कारण सम्वाद अवरुद्ध भएको थियो,’ लोसपा कार्यकारिणी सदस्य समेत रहेका झाले भने, ‘त्यसकारण अब एमालेसँग मात्र नभएर विचार मिल्ने दलहरूसँग वार्ता गर्नका लागि ६ सदस्यीय वार्ता समिति शुक्रवार गठन गरिएकाे छ ।’
लोसपाले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ एमालेलगायत अन्य विचार मिल्ने पार्टीहरूसँग सहकार्य गर्नका लागि वार्ता समिति गठन गरेको हाे । लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति शुक्रवार गठन गरेको छ ।
वार्ता समितिमा वरिष्ठ नेता शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल रहेको झाले बताए ।
एमालेसँग तालमेलका लागि अनाैपचारिक रूपमा वार्ता, सम्वाद भइरहे पनि सहज परिस्थिति भने नभएकाे लाेसपाका मधेश प्रदेश सचिव रामविनोद चौधरी बताउँछन् । नागरिकता विधेयकका कारण एमालेसँग तालमेल वा गठबन्धन नगर्न कार्यकर्ताहरूकाे चर्काे दबाब रहेकाे उनी बताउँछन् ।
‘राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि त्यसको विरोधमा हामी विगत दुई दिनदेखि सडक आन्दोलनमा छौं । तर, एमाले त्यसको समर्थनमा नाराबाजी गरिहेको छ,’ चौधरीले लोकान्तरसँग भने, ‘एमालेसँग हाम्रो एजेण्डा नै मिलिरहेको छैन । एमालेसँग गठबन्धन नै त नहोला, शीर्ष नेतालक्षित कुनै विशेष क्षेत्रमा तालमेल हुनसक्छ ।’
तालमेल नभए एक्लै लड्न पनि नेतृत्व तयार रहनुपर्ने उनको भनाइ छ ।
एमाले सचिव रघुवीर महासेठ भने लोसपासँग गठबन्धन नहुने बताउँछन् । ‘एमालेले कसैसँग पनि गठबन्धन गर्ने निर्णय गरेको छैन । आवश्यकता अनुसार कुनै क्षेत्रमा तालमेल गर्न सकिन्छ,’ महासेठले लोकान्तरसँग भने, ‘तालमेल गर्नकै लागि सत्तारुढ गठबन्धनमा आबद्ध नभएको हुनुपर्छ । तैपनि तालमेलकै लागि हालसम्म औपचारिक रूपमा लोसपासँग कुनै किसिमको कुराकानी भएको छैन ।’
मधेश प्रदेशको ३२ वटै प्रतिनिधिसभा क्षेत्रमा एमालेले उम्मेदवार उठाउने निर्णय गरिसकेको उनले बताए ।
‘यद्यपि लोसपाले तालमेल गर्न खोज्यो भने कुनै–कुनै क्षेत्रमा तालमेल गर्न सकिन्छ,’ महासेठले भने, ‘तालमेल गर्दा पनि लोसपाका नेताले यसअघि जितेकै सबै क्षेत्र भने दिन सकिँदैन । अन्य क्षेत्रको सीटमा व्यवस्थापन भने गर्न सकिन्छ ।’
गठबन्धनमा खास गरेर मधेश प्रदेशको सीटमा सहमति जुटाउन समस्या देखिएको छ । मधेश प्रदेशमा रहेको ३२ सीटमध्ये लोसपाको १५ सीटमा दाबी छ ।
साविक राजपाले गत निर्वाचनमा प्रतिनिधिसभामा १५ सीटमा चुनाव लडेर १० सीट जितेको तथा प्रदेशसभाको ३१ सीटमा लडेर १५ सीट जितेको हुनाले ती सबै सीटमा लोसपाले दाबी गरेको छ ।
लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी– ३ बाट, वरिष्ठ नेता राजेन्द्र महतो धनुषा– ३ बाट, वरिष्ठ नेता शरतसिंह भण्डारी महोत्तरी– २ बाट, अनिलकुमार झा रौतहट– १ बाट निर्वाचित भएका थिए ।
एकबाल मियाँ बारा– ४ बाट, लक्ष्मणलाल कर्ण पर्सा– ४ बाट निर्वाचित भएका थिए ।
प्रतिनिधिसभामा लोसपाले मधेश प्रदेशका ती शीर्ष नेताहरूबाहेक पश्चिमका सर्वेन्द्र शुक्लसहित केही नेताहरू तथा प्रदेशसभामा समेत केही स्थापित नेताहरूको सीट सुनिश्चितता खोजेको छ ।
२०७४ सालमा एमालेले प्रतिनिधिसभामा मधेश प्रदेशमा २ सीट मात्र जितेको थियो । धनुषा– ४ बाट रघुवीर महासेठ र सिरहा–३ बाट लीलानाथ श्रेष्ठ मात्र प्रतिनिधिसभामा जित्न सकेका थिए । रौतहट–३ मा माओवादीबाट चुनाव जितेका प्रभु साह अहिले एमालेमा छन् ।
तर, अहिले मधेश प्रदेशको ३२ सीटमध्ये धेरैजसो सीटमा एमालेका नेताहरूले दाबी गरिरहेका छन् ।
धनुषा– १ मा रामचन्द्र मण्डल, धनुषा– २ मा लोसपाबाट एमालेमा प्रवेश गरेका उमाशंकर अरगरिया, धनुषा– ३ मा जुली महतो, धनुषा–४ मा रघुवीर महासेठको दाबी छ ।
महोत्तरी–३ मा रामदयाल मण्डल, महोत्तरी–१ मा शंकर महतो वा लक्ष्मी महतो, सिरहा– ३ मा लीलानाथ श्रेष्ठ, रौतहट–३ मा प्रभु साह, रौतहट– १ मा अजय गुप्ता, रौतहट–२ मा किरण साह, पर्सा–३ मा राजकुमार गुप्ता, बारामा ज्वाला साह, देवनारायण चौधरी, अच्युत मैनाली, सर्लाहीमा हरि उप्रेती, राजनारायण साह, सप्तरीमा सुमनराज प्याकुरेलसहितका नेताहरूको दाबी छ ।
सहमति जुट्नमा सबैभन्दा बढी समस्या धनुषाको क्षेत्र– ३ मा देखिएको छ । २०७४ सालको निर्वाचनमा उक्त क्षेत्रबाट तत्कालीन राजपाका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतो निर्वाचित भएका थिए । तर, सोही क्षेत्रबाट एमालेकी जुली महतो पनि चुनावको प्रचार प्रसारमा लागिसकेकी छन् । गत निर्वाचनमा जुली समानुपातिक कोटामा प्रतिनिधिसभा सांसद बनेकी थिइन् ।
एमालेकै अनौपचारिक सहयोगमा गत निर्वाचनमा राजेन्द्र महतो निर्वाचित भएका थिए । तर, यसपटक जुली समानुपातिकमा नपरी प्रत्यक्ष नै चुनाव लड्न चाहेकी छन् । आफू चुनाव प्रचार तथा घरदैलो अभियानमा समेत लागिसकेको उनले लोकान्तरसँग भनिन् ।
‘यदि एमाले र लोसपाबीच तालमेल वा गठबन्धन भए पनि धनुषा–३ मा सूर्य छापकै उम्मेदवार रहन्छ,’ जुलीले थपिन्, ‘राजेन्द्रजीले पनि त्यो क्षेत्रमा आउँदिनँ, तपाईं प्रचारप्रसारमा लाग्नुस् भनेर मलाई भनिसक्नुभएको छ । ’
जुलीकै दाबी मान्ने हो भने पनि राजेन्द्र महतोले धनुषा– ३ छाड्दा उनका लागि एमालेले कुनै सुरक्षित क्षेत्र दिनुपर्ने हुन्छ । २०७४ सालको चुनावअघि महतो आफ्नो गृहजिल्ला सर्लाही– २ बाट चुनाव लड्ने गरेका थिए ।
राजेन्द्र महतोले धनुषा– ३ छाड्ने भनेर अहिलेसम्म औपचारिक रूपमा बोलिसकेका छैनन् । एमालेकै मधेश प्रदेशका एक केन्द्रीय सदस्यका अनुसार एमाले अध्यक्ष ओलीले नै लोसपासँग गठबन्धन चाहेका छैनन् ।
‘लोसपा मधेश प्रदेशमा निकै कमजोर अवस्थामा रहेको तथ्यलाई आकलन गर्दै ओलीलाई एक्लै चुनाव लड्न पार्टीका नेता तथा कार्यकर्ताको तीव्र दबाब छ,’ ती नेताले लोकान्तरसँग भने, ‘त्यसमा पनि अहिले जसपा र लोसपाबाट असन्तुष्ट रहेका नेताहरूको एमाले प्रवेश गर्ने लहर नै चलेको परिस्थितिको फाइदा उठाउन खोज्नुभएको हो ।’