
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिवनारायण यादव उपर भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
यादवले घाँस विकास कार्यक्रमको पेश्की लिई घाँस खरिद गर्दा फार्मको सञ्चालकबाट घाँस खरिद गरेवापत चेकमार्फत घुस लिएको भन्दै शुक्रवार विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।
यादवले फार्मबाट जबरजस्ती खाली बिल लिई उक्त खाली बिलमा घाँस खरिद गरेको नक्कली विवरण भरी खरिद गरिएको भनिएको घाँस कहाँ–कसलाई, के–कसरी वितरण गरेको हो सोको भरपाईसमेत पेश्की फर्छ्यौटको लागि कार्यालयमा पेश गर्न नसकेको अभियोग पत्रमा उल्लेख छ ।
फार्मका सञ्चालकलाई ७० हजार रुपैयाँ मात्र भुक्तानी दिई घाँस खरिद गरेको भनी १ लाख ८० हजार रुपैयाँ सरकारी रकम हानी–नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् ।
यादवले फार्मबाट घाँस खरिद गर्दा फार्मका सञ्चालकलाई दबाब र प्रभावमा पारी निजबाट २१ हजार रुपैयाँ घुस रिसवतसमेत लिई भ्रष्टाचार गरेको अभियोग–पत्रमा उल्लेख छ ।