
नेकपा(एकीकृत समाजवादी) का उपाध्यक्ष प्रमेश हमालले आफ्नो दलको अस्तित्वका लागि आगामी सङ्घीय र प्रदेशसभा निर्वाचनमा आवश्यक सीटका लागि गठबन्धनभित्र सङ्घर्ष गरिरहेको बताएका छन् ।
नेकपा(एस) काठमाडौँ क्षेत्र नं ४(२)का आयोजनामा आज भएको ‘प्रशिक्षण कार्यक्रम’ मा उनले सङ्घीय निर्वाचनमा गठबन्धनमा हालसम्म बढीमा ११५ सम्मको सीट मिलेको र प्रदेशसभासमेत गरी आइतबारसम्म सबै सहमति हुने विश्वास व्यक्त गरे ।
संसद्मा झण्डै दुई तिहाइ प्राप्त गरेको नेकपा हाल छिन्नभिन्न भएर आफ्नो अस्तित्वका लागि सङ्घर्षरत रहनुपरेकामा दुःख व्यक्त गर्दै नेता हमालले तत्कालीन नेतृत्वमा आएको गम्भीर वैचारिक भड्कावले सर्वशक्तिवान् बन्ने चाहना सिर्जना भई कम्युनिष्ट आन्दोलनका लक्ष्य, मूल्यमान्यता र आदर्शबाट च्युत हुनुपरेको विचार राखे ।