
सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन पुनरुत्थान गर्दै यस क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय भएको जानकारी दिए ।
होटल सङ्घ नेपाल (हान) ले आयोजना गरेको आतिथ्यता सम्मेलन ‘नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२२’ का अवसरमा उनले शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सन् २०२३ देखि २०३३ लाई भ्रमण दशकको रूपमा मनाउने निर्णय गरेको बताए। यसअघि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । तथापि, कोभिड महाकारीका कारण भ्रमण वर्ष स्थागित भएको थियो । कोभिडपछि विस्तारै मुलुकको पर्यटन क्षेत्र गतिशील बन्दै गएको छ ।
पर्यटन क्षेत्रको चाडो पुनरुत्थान गर्ने लक्ष्यका साथ सरकारले भ्रमण दशक घोषणा गरेको हो । कोभिडले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी भ्रमण दशकको रुपमा मनाएर विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने सरकारको उद्देश्य गरेको छ ।