
भारतीय अभिनेता शाहरुख खानको आगामी फिल्मलाई लिएर फ्यानहरूमा निकै उत्साह छ । शाहरुख ५ वर्षपछि ‘पठान’बाट मुख्य भूमिकामा आउन तयारी अवस्थामा छन् । दर्शकहरूबीच यो फिल्मको व्यग्र प्रतिक्षा छ । तर, उनको आगामी फिल्म ‘जवान’को बारेमा पनि भारतभर चर्चा चुलिएको छ ।
यसवर्ष जुनमा शाहरुखले एक भिडियो शेयर गर्दै फिल्म ‘जवान’ घोषणा गरेका थिए । उक्त भिडियोको दृश्य, संगीत र शाहरुखको लुक्सप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो । उक्त भिडियो युट्युबमा २९ लाखभन्दा बढीले हेरेका छन् । दर्शकहरूको यो क्रेजले ‘जवान’ फिल्मले रिलिजअघि नै बजेटभन्दा बढी कमाइ गरेको छ ।
रिलिजपछिको अधिकार २५० करोड भारुमा बिक्री
साउथमा ठूला हिट फिल्म दिने निर्देशक एट्लीसँग शाहरुखको सहकार्यलाई लिएर दर्शकहरू उत्साहित बनेका छन् । दर्शकहरूको उत्साहपछि ‘जवान’को अधिकार खरिदका लागि चर्को प्रतिष्पर्धा भएको थियो । चर्को प्रतिष्पर्धाका बीच नेटफ्लिक्सले यो फिल्मको ओटीटी अधिकारहरू किन्न सफल भएको छ । नेटफ्लिक्सले ‘जवान’को ओटीटी अधिकारका लागि १२० करोड खर्च गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ओटीटीपछि ‘जवान’ले स्याटेलाइट अधिकार पनि बिक्री गरेको छ । नेटफ्लिक्सले ओटीटीमा ‘जवान’ स्ट्रिम गर्नेछ, भने जी टीभीले फिल्मको स्याटेलाइट अधिकार प्राप्त गरेको छ । ‘जवान’ले दुवै अधिकार बेचेर २५० करोड भारतीय रुपैयाँ कमाएको समाचारमा उल्लेख गरिएको छ । यो रिपोर्टको आधिकारिकता पुष्टि गर्न बाँकी छ । यदी उक्त समाचार सत्य भएमा ‘जवान’ले बजेटभन्दा बढी कमाएको छ । जवानको बजेट १८० करोड भारतीय रुपैयाँ रहेको बताइन्छ ।
‘जवान’ तमिल फिल्मका हिट निर्माता एट्लीले निर्माण गरेका हुन् । उनले ‘मेर्सल’, ‘बिगिल’ र ‘थेरी’जस्ता ठूला हिट फिल्म दिएका छन् ।
जवानमा शाहरुखका अतिरिक्त साउथकी सुपरस्टार नयनतारा मुख्य भूमिकामा छिन् । लगातार दमदार अभिनय गरिरहेका विजय सेजुपति खलनायकको भूमिकामा छन् । त्यस्तै, थालापथी विजय र दीपिका पादुकोणको पनि छोटो भूमिका रहेको छ ।
‘जवान’ हिन्दीमा मात्र नभई तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा पनि रिलिज हुने बतान्छ । यही कारणले हिन्दी फिल्मका दर्शकमा मात्र नभई देशभरका सिनेमा दर्शकमा पनि ‘जवान’लाई लिएर उत्साह रहेको छ ।