०२ असार २०८३, मंगलबार
फूटपाथबाट हटाइएपछिको पीडा

फूटपाथ व्यापारीको गुनासो– महानगरले बिचल्ली बनायो, हाम्रो पनि कहीँ त व्यवस्थापन हुनुपर्‍यो !

असोज १०, २०७९
फूटपाथ व्यापारीको गुनासो– महानगरले बिचल्ली बनायो, हाम्रो पनि कहीँ त व्यवस्थापन हुनुपर्‍यो !

मकवानपुरकी नानी मैयाँ तामाङले सीतापाइलाको फूटपाथमा मकै पोल्दै बेच्न लागेको उन्नाइस वर्ष भयो ।

मकै बेचेरै उनले आफ्नो पेट र घर–परिवार पाल्दै आएकी थिइन् । तर, काठमाडौं महानगरपालिकाले फूटपाथबाट हटाएपछि उनको बिचल्ली भएको छ ।

बिहानबेलुका मकै पोल्न पनि धौधौ भएको उनले बताइन् ।

'हामीहरू जस्तो फूटपाथमा मकै पोलेर जीविकोपार्जन गर्नेहरू अब कहाँ जाने ?,' उनले प्रश्न गरिन्,'बिहान–बेलुका हातमुख जोर्न पनि धौधौ छ। मेरो काम, जागिर, व्यवसाय जे भने पनि यही हो ।'

अब बालबच्चाहरूलाई कसरी खुवाउने, कसरी उचित शिक्षा दिने भन्ने चिन्ताले उनलाई सताइरहँदो रहेछ ।

'पहिला यही मकै पोलेरै आफ्नो गाउँमा घर बनाएकी थिएँ। यताको सबै खर्च पनि यही मकै पोलेरै पुर्‍याउने गरेकी थिएँ,’ उनले मलिनो स्वरमा भनिन् ।

काठमाडौं महानगरले फूटपाथ खाली गर्ने अभियान थालेपछि फूटपाथमा गुजारा गर्ने साना व्यापारीहरू समस्यामा छन् ।

उनीहरूले गरिखान दिनुपर्छ भन्दै भदौ ३० गते महानगरअगाडि विरोध प्रदर्शन समेत गरेका थिए ।

***

फूटपाथमा व्यापार गर्दै आएकी निर्मला केसीको कथा अलि फरक छ । उनी श्रीमानसँग डिभोर्स गरेर बसेकी एकल महिला हुन् ।

उनले कोरोना महामारीपश्चात स्वयम्भु क्षेत्रमा लत्ताकपडाको व्यापार गर्दै आएकी थिइन् । चाडपर्वका बेला विगतका वर्षमा जस्तो व्यापार गर्न नपाउँदा उनी दु:खी छिन् ।

महानगरले फूटपाथबाट हटाएपछि बालबच्चालाई निजी स्कूलबाट निकालेर सरकारीमा हाल्नुपरेको गुनासो उनले गरिन् ।

'गरिखाने ठाउँबाट महानगरले उठाइदियो । बच्चालाई बोर्डिङ स्कूलमा पढाउनै सकिनँ अनि त्यहाँबाट निकालेर नजिकैको सरकारी गीतामाता स्कूलमा हालेको छु,' उनले गुनासो पोखिन् ।

महानगरले विकल्प नदिने हो भने आफूहरू निकै ठूलो समस्यामा पर्ने उनको गुनासो छ ।

'घर-परिवार पाल्नुपर्‍यो। सबै मेरै काँधमा छ,' केसीले भनिन्, 'हामीलाई अफिस टाइमबाहेकको दुई घण्टा जसरी पनि फूटपाथमा व्यापार गर्ने मौका दिनुपर्छ ।  नत्र मर्नुको विकल्प छैन ।'

कुनै खुला स्थानमा आफूहरूलाई व्यापार गर्न दिने व्यवस्था मिलाउन उनको माग छ ।

'फूटपाथबाट हटाउने हो भने पनि हामीलाई व्यवस्थापन त गर्नुपर्छ । हामीले पनि गरिखान पाउनुपर्‍यो नि !' उनले भनिन् ।

***

फूटपाथमै व्यापार गरेर आफ्नो परिवार धान्दै आएकी निता रोकाको कथा पनि उस्तै छ।

रत्नपार्कको फूटपाथमा बच्चाका लत्ताकपडा व्यापार गर्दै आएकी उनी २० दिनयता कमाइविहीन छिन् ।

'महानगरले हामी गरीबलाई धेरै दु:ख दिएको छ । फूटपाथमा बसेर जम्माजम्मी दुई-तीन सय जति दैनिक कमाइ हुन्थ्यो। त्यही पैसाले बालबच्चा पढाउने र घर खर्च चल्ने गरेको थियो,' रोकाले लोकान्तरसँग भनिन्, 'हामीले दु:ख पायौं, सन्ततिलाई यस्तो दु:ख नहोस् भनेर मेहनत गरेका हौं, तर महानगरले बिचल्ली बनायो ।'

फूटपाथबाट हटाइएका सबैको उस्तै माग छ, हामीलाई कहीँ त व्यवस्थापन गर्नुपर्‍यो । तर, उनीहरूको मागलाई महानगरले सम्बोधन गर्न सकिरहेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्