
काठमाडौं, १९ साउन — परिवारमा पति र पत्नीको फरक फरक जिम्मेवारी हुन्छ जसलाई पूरा गर्दा नै पारिवारिक सन्तुलन कायम हुन्छ । महिला र पुरुष एक रथका दुई पांग्रा हुन् ।

पहिलापहिला श्रीमानले घरबाहिर गएर काम गर्नुपर्थ्यो भने महिलाले घर सफा राख्ने र भान्सा सम्हाल्ने काम गर्थे । अहिले यसमा क्रमिक परिवर्तन आइरहेको छ ।
आजभोलि महिला र पुरुष दुवैले घरबाहिर गएर जागिर खान वा व्यापार सम्हाल्न सक्ने भएका छन् । तर घरको काम गर्न पुरुषहरू अझै पनि अल्छी गर्छन् ।
घरको काम पति र पत्नी मिलेर गर्ने हो भने घरको वातावरण रमाइलो हुन्छ । हालै गरिएको एक अनुसन्धानका अनुसार घरको काम गर्न जान्ने पुरुषलाई महिलाहरूले मन पराउँछन् ।
एक्लै घरको सबै काम गर्नुपर्दा महिलाहरू भूलवश आफ्नो कामलाई तुच्छ ठान्न थाल्छन् । यस्तोमा श्रीमानले पनि सघाइदिने हो भने उनीहरूलाई कामको महत्त्व थाहा हुन्छ र बराबरी महसूस गर्छन् र खुशी हुन्छन् ।
आआफ्नै काममा व्यस्त हुँदा पतिपत्नीले सँगै गफ गर्ने अवसर पनि पाउँदैनन् । तर घरको काम दुवैजनाले मिलेर गर्दा सँगै बस्ने र कुरा गर्ने अवसर प्राप्त हुन्छ जसले सम्बन्ध पनि बलियो हुन्छ ।
जिम्मेवारीहरू बाँड्दा राम्रो भावना आइहाल्छ । पतिले काम सघाउँदा महिलाहरूलाई कामको बोझ महसूस हुँदैन र नयाँ तथा झन् राम्रो गरी काम गर्न मन लाग्छ ।
प्रायः घरको काम गर्दा महिलामा एक्लोपन र निराशाको भावना बढ्छ जसका कारण गहिरो तनाव उत्पन्न हुन्छ । यसबाट महिलाको स्वभावमा पनि अनायास परिवर्तन आउँछ । यस्तो बेलामा श्रीमानको अलिकति भएपनि सहयोग पाए भने महिलाको थकान र तनाव हट्छ अनि उनी आफूलाई पहिलाभन्दा बढी मजबूत भएको महसूस गर्छिन् ।
भान्सामा काम गर्नु र स्वादिष्ट खाना बनाउनु महिलाको दैनिक काम नै हो तर नियमित रूपमा एउटै काम गर्दा उनीहरूलाई झ्याउ लाग्नु स्वाभाविक हो । यस्तोमा श्रीमानले सहयोग गरेमा एक्लै खाना बनाउनुपरेको नीरसता पनि भाग्छ र श्रीमान् श्रीमतीले एकअर्काको फेवरेट स्वाद पनि थाहा पाउँछन् ।
श्रीमानले घरको काम गरेपछि मात्र थाहा पाउँछन् यो त्यति सजिलो रहेनछ भनेर अनि उनीहरू श्रीमतीलाई कदर गर्न थाल्छन् । यसले गर्दा महिलामा सकारात्मक ऊर्जा आउँछ ।
अब तपाईं पनि आफ्नी श्रीमतीलाई घरायसी काममा सघाउन थाल्नुस् ।
एजेन्सी