काठमाडौं, १९ साउन– राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) को आयोजनामा राजधानीमा दुई दिने ‘दोस्रो जिम्मेवार व्यवसाय सम्मेलन’ सुरु भएको छ । व्यवसायीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका व्यवसायीक मूल्य र मान्यताको विषयमा जानकारी दिने उद्देश्यसहित बिहिवारदेखि राजधानीको याक एण्ड यती होटलमा सम्मेलन शुरु भएको हो ।
दुई दिने यस सम्मेलनमा विभिन्न १६ वटा सत्रहरुमा ठूलादेखि साना उद्योगी व्यवसायीहरु, बैंक तथा वित्तीय संस्थाहरु, सम्बन्धित सरकारी निकाय, विकास साझेदार संस्थाहरु लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले देशको विकासका लागि निजी क्षेत्र सक्षम र जिम्मेवार बन्नुपर्नेमा जोड दिए । जिम्मेवार व्यवसायीहरुले देशमा सामाजिक तथा वातावरणीय रुपमा सुधार ल्याउन सहयोग पुग्ने बताउँदै देउवाले आर्थिक विकासको लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।
सम्मेलनमा एनबिआइका अध्यक्ष पद्म ज्योतीले कुनै पनि व्यवसायीले भविश्यमा कस्तो जिम्मेवारीका साथ व्यवसाय गर्ने भन्ने विषयको जानकारी दिने र समाज र देशप्रति उत्तरदायी बनाउने विश्वास व्यक्त गरे । सम्मेलनले व्यवसायिक सामाजिक उत्तरदायित्व सम्बन्धी नयाँ कानूनको कार्यान्वयन गर्न पनि सहयोग पुग्ने उनको दाबी छ । सम्मेलनमा व्यवसायका विभिन्न क्षेत्र तथा यसका चुनौतिहरुको बिषयमा समेत छलफल गरिनेछ ।