
काठमाडौं, २० साउन — सत्तारूढ भारतीय जनता पार्टीले बिहीवार पश्चिम बंगाल सरकारलाई दार्जीलिङमा बलप्रयोग नगर्न भन्दै त्यहाँको समस्या गोलीमार्फत समाधान नहुने बताएको छ ।

केन्द्र सरकारका मन्त्री एसएस आह्लुवालिया लोकसभामा दार्जीलिङका सांसद हुन् । उनले दार्जीलिङमा भएको विरोधका दौरान तीनजना आन्दोलनकारी मारिएको घटनामा उच्चस्तरीय छानबिनको माग गर्दै यो हत्या अक्षम्य भएको बताए ।
गोर्खाल्यान्ड मुभमेन्ट कोअर्डिनेसन कमिटीका सदस्यहरूसँग मिलेर गरेको एक प्रेस सम्मेलनमा आह्लुवालियाले साउन ३१ गतेअघि शान्ति बहाली हुने आशा व्यक्त गरे ।
‘दार्जीलिङको संकट गोलीमार्फत समाधान हुँदैन । दमनकारी उपाय र प्रहरी ज्यादती समाधान होइनन्,’ उनले भने ।
पचास दिनभन्दा बढी लम्बिसकेको आन्दोलन राजनीतिक संवादमार्फत मात्र समाधान हुने र दार्जीलिङमा शान्ति पुनर्बहाली गर्न आवश्यक रहेको उनले बताए । उनले पश्चिम बंगालको तृणमूल कंग्रेस सरकार र गोर्खाल्यान्ड पार्टीहरूलाई संवादका लागि आग्रह गरे ।
‘गोर्खाहरू इमान्दारी र देशका लागि बफादारिता देखाउन प्रसिद्ध छन् । उनीहरू देशका लागि जीवन बलिदान दिन हिचकिचाउँदैनन् । त्यसैले म उनीहरूलाई पनि भोकहडताल र आन्दोलन फिर्ता लिन आग्रह गर्छु,’ आह्लुवालियाले भने ।
एजेन्सी