११ असार २०८३, बिहीबार

वर्षाको वास्ता नगरी शक्तिपीठमा लाखौं भक्तजनको भीड

वर्षाको वास्ता नगरी शक्तिपीठमा लाखौं भक्तजनको भीड

नवरात्र अर्थात् बडादशैंको नवौं दिन देशभरका देवी मन्दिरमा झरीका वास्ता नगरी भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

दुर्गा पक्ष समेत भनिने यस अवसरमा नवरात्रको अन्तिम दिन परेकाले पनि मंगलवार बिहानैदेखि झरीको परवाह नगरी देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको हो । 

नवरात्रको अन्तिम दिन मंगलवार बिहानैदेखि राजधानीलगायत देशभर वर्षा भइरहेको छ । शक्तिपीठ र देवी मन्दिर वरिपरिका सडकमा सवारीसाधनको पनि चाप देखिन्छ । ती स्थानमा पार्किङ गरिएका सवारीसाधनको पनि लाम भेटिन्छ । अन्यत्र भने सडक खुला छ ।

महानवमीको दिन भएकाले मंगलवार धेरैैले सवारीसाधनमा पूजा आराधना गरी घरमै थन्क्याएका कारण पनि सडक सुनसान छ । 

अघिपछि सडक जाममा पर्ने यात्रु अहिले भने खुला वातावरणमा यात्रा गर्न पाउने अवस्था छ । सवारीसाधन कम भएपछि राजधानीको वातावरणमा धुवाँ धुलोको मात्रा कम छ । राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, कंकेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बज्रबाराही, बगलामुखी लगायत मन्दिरमा भक्तजनको भीड छ । मंगलवार पनि महाअष्टमीमा जस्तै बलिसहित पूजा आराधना गर्ने भक्तजनको घुइँचो लागेको छ ।

राजधानीका प्रत्येक शक्तिपीठमा मंगलवार हजारौंको संख्यामा भक्तजन लामबद्ध छन् । 

वर्षमा १ दिन मात्र खुल्ने हनुमानढोका दरबारको तलेजु भवानी मन्दिरमा पनि बिहानैदेखि हजारौं भक्तजन लाममा बसेका छन् । घटस्थापनाका दिन राखेकोे जमरा मंगलवार शक्तिपीठमा लगी चढाउने चलन छ । यसैगरी वर्षमा १ दिन मात्र खुल्ने गोकर्ण राजनिकुञ्जभित्रको वनदेवी मन्दिरमा पनि बिहानैदेखि हजारौं भक्तजन लाममा बसेका छन् । 

नेपाल ट्रष्टको कार्यालय अन्तर्गतको गोकर्ण वनमा रहेको यो वनदेवी मन्दिर प्रत्येक शारदीय नवरात्रको महाअष्टमी र महानवमीका दिन मात्र खुल्ने गर्छ ।

उपत्यका बाहिरका देवी मन्दिरमा पनि भक्तजनको घुइँचो छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक भगवती, पाल्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बाग्लुङ कालिका, शैलेश्वरी, उग्रतारा, बडीमालिका लगायत मन्दिरमा भक्तजनको भीड लागेको बताइएको छ । 

नवरात्रसमेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । विगत २ वर्ष कोरोना महामारीका कारण शक्तिपीठ बन्द गरी घर घरमै दुर्गा देवीको पूजा आराधना गर्न आह्वान गरिएको थियो । यस वर्ष भने कोरोनाको जोखिम कम भए पनि डेंगुको त्रास बढेको छ ।

यस वर्ष डेंगुबाट सुरक्षित भएर दशैं मनाउन प्रशासनले आह्वान गरेको छ । वर्षा निरन्तर भइरहकाले पनि यस्ता रोगबाट बचेर पर्व मनाउन आह्वान गरिएकोे छ ।

salt training

कमेन्ट गर्नुहोस्