
पछिल्लो सयम रुचाइएको खुर्सानीको प्रजातीमध्यको एक अकबरे खुर्सानीको सिगानाका किसानले व्यावसायिक उत्पादन थालेका छन् ।
खानाका लागि पिरोसँगै स्वास्थ्यबद्र्धक मानिएको अकबरे खुर्सानीको बागलुङ नगरपालिका–८ का केही किसानले उत्पादन गरेका छन् ।
सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खडकाले ३ वर्षदेखि अकबरे खुर्सानी खेती गर्दै आएका छन् । खड्काले पहिलो वर्ष लगाएको अकबरे खुर्सानीको माग राम्रो आएपछि यो खेतीतर्फ आकर्षित भएको बताए ।
उनले लगातार २ वर्षदेखि २ रोपनी जग्गामा व्यावसायिक रूपमा अकबरे खुर्सानी उत्पादन गर्छन् र यसको अचार बनाएर ‘ब्रान्डिङ’ समेत गर्दै आएका छन् ।
‘मेरो मुख्य पेशा त सुन्तला खेती हो तर सुन्तला खेतीमा सिजनको कामबाहेक अघिपछि फुर्सद हुन्छ, कृषि भ्रमण तथा अवलोकनको समयमा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरेको देखेर ३ वर्षअघि पर्वत जिल्लाको पातीचौरबाट १०० बिरुवा लिएर लगाएको थिएँ,’ कृषक खड्काले भने, ‘अहिले अकबरे खुर्सानीको हरियो दाना केजीको ४५० र अचार बनाएर ‘प्याकेजिङ’ गरेको आधा केजीको ४५० रुपैयाँमा बिक्री गर्दै आएको छु, यहाँको अचार कोसेली बनेर युरोप, अमेरिका र अस्ट्रेलिया पुगिसकेको छ ।’
खड्काले खुल्ला स्थानमा भन्दा प्लाष्टिक टनेलमा राम्रो गुणस्तरको खुर्सानी फल्ने गरेको अनुभव सुनाए । उनले पाकेको अकबरे खुर्सानी सुकाएर बनाएको अचार सहकारीको लोगो राखेर प्याकेजिङ गरेर बिक्री वितरण गर्दा २ देखि ३ वर्षसम्म स्वस्थ नै हुने बताए । उनका प्लास्टिक टनेलमा अहिले करीब ८०० अकबरे खुर्सानीका विरुवा छन् ।
उत्पादन भएका खुर्सानी स्थानीय श्रीगणेश कृषि व्यावसायिक सहकारी संस्थाको ब्राण्डमा बिक्री गर्ने गरिएको छ । उनले सहकारीमार्फत् संस्थाका शेयर सदस्यलाई अकबरे खुर्सानीका बिरुवा वितरण गरिएको सहकारीले जनाएको छ । खड्काले यो वर्षमा १ लाखको अकबरे खुर्सानी बिक्री गर्ने लक्ष्य राखेका छन् ।