
नेकपा एमालेले वितरण गरेको टिकटप्रति असन्तुष्टिका स्वर बाहिरिन थालेको छ । १० बुँदे पक्षधर नेता भीम रावलले टिकट नपाएपछि भोलि निर्णय लिने बताइरहँदा अर्की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पनि नेतृत्वको कडा आलोचना गरेकी छन् ।
नुवाकोट क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र २ मा दाबेदारी प्रस्तुत गरेकी उनले टिकट नपाएपछि पृथ्वी गोलो छ भनेर बुझ्न नेतृत्वलाई चेतावनी दिएकी हुन् ।
‘केन्द्रमा बसेर, पैसामा सुतेर नायवी चलाउनेहरुले पृथ्बी गोलो छ भन्ने मात्रै बुझेको भए हुने’, उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेकी छन् । उनले टिकटमा आर्थिक चलखेलको संकेत समेत गरेकी छन् ।
नुवाकोट प्रदेश क्षेत्र नम्बर २ मा एमालेले विजय लोप्चनलाई टिकट दिएको छ । यस्तै प्रतिनिधिसभामा नारायण प्रसाद खतिवडालाई टिकट दिएको छ ।