२९ असार २०८३, सोमबार

चिसो बढ्न थालेसँगै घट्न थाले डेंगुका बिरामी

चिसो बढ्न थालेसँगै घट्न थाले डेंगुका बिरामी

जाडो याम शुरू भएसँगै अस्पतालहरूमा डेंगुका बिरामीहरू कम हुँदै गएका छन् । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दशैं शुरू हुनुअघिको तुलनामा दशैं अवधिमा डेंगुका बिरामीहरू कम हुँदै गएको हो । डेंगुको संक्रमण खास गरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट हुने गर्दछ । 

दशैं अघिसम्म देशभर नै डेंगु महामारीले आक्रान्त बनाए पनि जाडो याम शुरू भएसँगै डेंगुको संक्रमण कम हुँदै गएको र बिरामीहरू पनि कम अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए । उनका अनुसार अहिले अस्पतालमा साधारण बेडमा ११ जना उपचाररत छन् भने एक जना आईसीयूमा उपचाररत छन् । 

इमर्जेन्सीमा करिव ७० जना दैनिकजसो उपचारका लागि आइरहेको उनले बताए । सूचना अधिकारी गौतमले अस्पतालमा अन्य सरुवारोगका बिरामीहरू भने यस वर्ष विगतको तुलनामा कम रहेको बताए । उनले दशैंको बेलामा अस्पतालले डेंगु बढ्ने अनुमान गरेर आवश्यक तयारी गरे पनि बिरामीहरू कम भएको बताए । सबैले लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, लोसनको प्रयोग गर्ने, पूरा बाउला भएको लुगा लगाउने, घर वरपर पानी जम्न नदिने, घर वरपर सफा राख्ने गरेमा डेंगीबाट बच्न सक्ने बताए । उनले डेंगुको प्रकोप अझै रहने भएकाले केही समयसम्म सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरे । 

सूचना अधिकारी गौतमले विगतको वर्षमा भन्दा यस वर्ष सर्पदंशका बिरामीहरू भने बढिरहेको बताए । गत वर्षहरूमा असोज महिनाबाट सर्पदंशका बिरामीहरू धेरै नआएको तर यस वर्ष भने हाल पनि ५ जना सर्पदंशका बिरामीहरू अस्पतालमा उपचाररत रहेको बताए । यद्यपि,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने देशभर भएको केही दिनको निरन्तर वर्षाले झाडापखाला, हैजा र डेंगीको खतरा बढेकाले सतर्क रहन आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्