
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
नेकपा एमाले नेता घनश्याम भुसालले पार्टीभित्रै अपमानित हुने अवस्था आएकाले एमाले छाडेको बताएका छन् । शनिवार आफ्नो गृहनगर रूपन्देहीको तिलोत्तमा मणिग्राममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै भुसालले पार्टीभित्र विधि, नीति र सिद्धान्तको कुरा गर्दा अपमानित र कैदीजस्तो भएपछि एमाले परित्याग गरेको बताएका छन् ।
उनले आफ्नो अबको यात्रा लोकतन्त्रको रक्षा र वाम आन्दोलनको एकता एवं यसको सुदृढीकरणका लागि हुने बताए । उनले आफू चुनाव लड्ने विषयमा अझै निचोडमा पुगिनसकेको बताए ।
००००
निर्वाचन आयोगले यसपटकको निर्वाचनको दिन मंसिर ४ गते यातायातको साधन व्यवस्थित ढंगले संचालन गर्नका लागि अनुमति दिने भएको छ । ज्येष्ठ नागरिक, अशक्त, मतदान केन्द्र भन्दा धेरै टाढा भएका मतदाताहरूका लागि पनि यातायातको साधन व्यवस्थित ढंगले संचालन गर्न अनुमति दिने निर्णय आयोगले गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।
००००
निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत पहिलो हुने निवचित हुने प्रणालीतर्फ मनोनयनपत्र दर्ताका लागि हालैका दिनमा अविरल वर्षा, बाढी पहिरोलगायतका विपद्जन्य घटनाका कारण कतिपय स्थानमा आवतजावतमा समेत कठिनाइ हुने हकमा आवश्यक सहजीकरण गर्ने भएको छ ।
त्यस्तो घटना भएका स्थानमा लागि आवश्यक कागजात असोज २३ गते बिहान १० बजेभित्रमा यस आयोगको कार्यालय, कान्तिपथ, काठमाडौँमा प्राप्त भएमा आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइ आवश्यक सहजीकरण गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
००००
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । शनिवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी उनले आफू उम्मेदवार नबन्ने निर्णयमा पुगेका जानकारी दिए ।
००००
निर्वाचन आयोगले संवत् २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई कानूनबमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई जरिवानाबापतको रकम दाखिला गर्न सहजताका लागि आयोगको बहादुर भवनस्थित कार्यालय, सातवटै प्रदेश कार्यालय र ७० वटै जिल्ला कार्यालयमा समेत रकम बुझाउनसक्ने व्यवस्था गरेको छ । आयोगले सो निर्णयबारे आज विज्ञप्तिमार्फत जानकारी दिइएइको हो ।
००००
जनता समाजवादी पार्टी (जसपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाएको छ ।
नेकपा एमालेसँग तालमेल गरेको जसपाले शनिबार पार्टीकातर्फबाट उम्मेदवारको टुङ्गो लगाएको हो । जसपाका प्रवक्ता मनिष कर्णका अनुसार तराईका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरी निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बन्ने भएका छन् ।
००००
नेकपा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएको छ । शनिबार बालकोटमा एमाले अध्यक्ष केपी ओलीले थापालाई टिकट हस्तान्तरण गरेका हुन् ।
यसअघि एमालेले मकवानपुरका दुबै क्षेत्रमा पार्टीको उम्मेदवार तय गरेको थियो । तर, ओली र थापाबीच भएको छलफलमा क्षेत्र नम्बर १ मा रामेश्वर रानालाई दिएको टिकट थापालाई दिने समझदारी बनेको हो ।
टिकट पाएपछि थापाले एमालेको सहयोगमा मंसिर ४मा हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट उमेदवार बन्न लागेको जानकारी दिए ।
००००
गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा शनिवार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।
००००
नेपालमा यस वर्षको अक्टोबर २ तारिखसम्म मनसुन रहने पूर्वानुमान गरिएको थियो । तथापि, पूर्वनिर्धारित मितिभन्दा करिब दुई साता मनसुन लम्बिएको छ । अबको एक सातापछि नेपालबाट मनसुन बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए । जुन ५ तारिखदेखि नेपालको पूर्वी भेग भएर मनसुन शुरु भएको थियो ।
००००
नेकपा एमालेका नेता तथा पूर्व सांसद बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिवार बिहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार बाथरुममा लडेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा दोषी ठहर भई उनी करीब ७ वर्ष जेल बसेका थिए ।